६ दिनपछि उठ्यो २ बालिकाको शव, ५ जनाविरुद्ध किटानी जाहेरी

घटनाको विषयमा अनुसन्धानगरी दोषी पाइए कारबाही गर्ने प्रहरीको प्रतिबद्धतापछि आज परिवारले शव उठाएर दाहसंस्कार गरेका हुन् ।
मृतक दीपिकाकी आमा मायाँ सुनार र दीपशिलाका बुबा दिनेश दर्जीले शव बुझेर बिहीबार (आजै) देवघाटमा अन्तिम संस्कार गरेको राजनीतिक दल महिला सञ्जाल, चितवनकी अध्यक्ष संगीता भट्टराईले जानकारी दिइन् ।
शनिबार साथीहरुसँग वनभोज खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीय दीपशिला परियार र ११ वर्षीया दीपिका सुनारलाई पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो । उनीहरुको उपचारका क्रममा सोही दिन साँझ मृत्यु भएको थियो ।
उनीहरुको शव विगत ६ दिनदेखि भरतपुर अस्पतालमा थियो भने स्थानीयवासी संघर्ष समिति नै बनाएर आन्दोलित थिए ।
पीडित परिवारले डुबेर हैन कसैले मारेको हो भन्दै दोषीलाई पत्ता लगाई कारबाहीको माग गर्दै आएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा पाँचजनाविरुद्ध किटानी जाहेरी परेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । किटानी परेकामा केही वनभोजमा सहभागी भएकाहरु छन् भने केही बाहिरका पनि छन् । उनीहरुको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् । रासस