
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय विशेष सुनवाई समितिमा राजदूतहरुको समावेशीता सम्बन्धमा छलफल भएको छ ।
समितिको कार्यालयमा आज भएको छलफलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसंग राजदूत नियुक्तिमा समावेशीको अवस्था कस्तो छ भनी सांसदहरुले प्रश्न गरेका थिए ।
मन्त्री ज्ञवालीले कुल ३३ स्थानमा राजदूत राख्ने व्यवस्था रहेकोमा हाल २८ स्थानमा राजदूतहरु रहेको ती मध्ये ५ जना महिला, एक जना दलित, दुई जना जनजाति, एक जना मधेशी र १९ जना खसआर्य समुदायबाट रहेको जानकारी दिए ।
उनले राजदूत नियुक्तिमा ५० प्रतिशत करियर डिप्लोम्याट र ५० प्रतिशत राजनीतिक नियुक्ति हुने गरेको जानकारी पनि दिए ।
राजनीतिक नियुक्तिलाई समावेशी बनाउने प्रयास भए पनि करियर नियुक्तिमा त्यसो हुन नसकेको पनि मन्त्री ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस्