
प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुसँग आज गरेको छलफल निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दलका नेताहरुले आगामी स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन गर्न सकिने अवस्था देखिएको भन्दै निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गरेका थिए ।
तर राजपाका नेताहरुले भने संविधान संशोधनलगायत आफूहरुले राखेका माग पूरा नभएसम्म निर्वाचनमा जान नसकिने अडान राखेपछि बैठक निष्कर्षविहीन भएको हो ।
बैठकपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले राजपाले उठाउँदै आएका मागप्रति आफूहरु सकारात्मक भए पनि तत्काल संविधान संशोधन गर्न नसकिने भएकाले निर्वाचनमा जान आफूहरुले आग्रह गरेको बताए ।
उनीहरुले असार १४ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने अवस्था रहेको र त्यसअघि संविधान संशोधन गर्न समयसमेत नपुग्ने भएको बाध्यता बुझिदिन आग्रह गरेको जानकारी दिए ।
बैठकमा राजपाका नेताहरुले स्थानीय तहको निर्वाचनको मिति केही समय पर सारेर सहमति खोज्न आग्रह गरे पनि सत्तारुढ दलहरुले घोषित मिति सार्न नसकिने स्पष्ट पारेका थिए ।
बैठकपछि राजपाका नेताहरुले जबरजस्ती स्थानीय तहको निर्वाचन गर्न खोजिए मुलुक दुर्घटनामा जाने चेतावनी दिए ।
बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता विमलेन्द्र निधि, रामचन्द्र पौडेल, रापजाका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेता सहभागी थिए ।
नेताहरुबीच पुनः छलफल गर्ने सहमति भने भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्