
स्थानीय समस्यालाई मुख्य मुद्दा बनाएर निर्वाचित भएका जनप्रतिनिधिहरुले स्थानीयबासिको सुझाव अनुसार काम अघि बढाएका हुन् ।
तर स्थानीय तह सञ्चालनसम्बन्धी कानुनको अभावले उनीहरुलाई काम गर्न भने समस्या भएको छ ।
चुनाव प्रचारप्रसारका बेला गरिएका प्रतिबद्धता पूरा गर्न नवनिर्वाचित जनप्रतिनिधिहरु सक्रिय हुन थालेका छन् ।
काठमाडौं महानगरपालिकाका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो टोलका समस्या समाधान गर्ने उद्देश्यसहित काम अघि बढाएका छन् ।
उपत्यकाबासीले भोग्दै खानेपानी, घुँवा धुलो, बाटो घाटोलगायतका समस्या समाधान गर्न उनीहरु सक्रिय भएका हुन् ।
काठमाडौं महानगरपालिकाको वडा नं ३ का अध्यक्ष दीपक केसी आफ्नो वडामा धेरै वटा ठूला अस्पतालहरु रहेकाले यो वडालाई अस्पतालको हवका रुपमा विकास गर्ने लक्ष्य राखेर काम शुरु गरिएको बताए ।
उनले छाडा पशु नियन्त्रण, घरपालुवा पशुपंक्षीको दर्ता गर्ने योजनासमेत बनाएको जानकारी दिए ।
त्यसैगरी वडालाई हरियाली बनाउने र सडक कालोपत्र गर्नेकामलाई पनि प्राथमिकतामा राखिएको बताए ।
कामलाई तिव्रता दिने चाहना भए पनि स्थानीय तह सञ्चालनसम्बन्धी कानुन नहुँदा केही समस्या परेको उनको भनाइ थियो ।
वडा नम्बर ३ का अध्यक्ष केसी जस्तै वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले पनि वडाका समस्या पहिचान गर्ने काम शुरु गरिसकेको बताए ।
उनले आफ्नो वडामा रहेको ढल व्यवस्थापनको समस्या समाधान गर्ने काम शुरु गरेको जानकारी दिए ।
नवनिर्वाचित जनप्रतिनिधिहरुसमक्ष स्थानीयले धेरै अपेक्षा गरेका छन् । उनीहरु आफ्नो काम लिएर कार्यालयहरुमा धाउन थालिसकेका छन् ।
जननिर्वाचितहरुका अहिलेसम्मका कामले सन्तुष्ट नै रहेको सेवाग्राहीको भनाइ छ ।
संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएसँगै स्थानीयबासिन्दाले जनप्रतिनिधिहरुसँग धेरै अपेक्षा राख्नु स्वभाविकै हो ।
सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याएको दाबी गर्ने राजनीतिक दलहरुले तत्काल संसद्बाट स्थानीय तह सञ्चालनसम्बन्धी ऐन पारित गरे जनप्रतिनिधिहरुलाई पनि काम गर्न अझ सहज हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्