एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता « Image Khabar


एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता


Imagekhabar
२९ जेष्ठ २०७४, सोमबार १०:२७

घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर पुग्नेबित्तिकै पानी भर्न पाइँदैन । पालो कुरेर पानी भर्नुपर्दा समय बढी लाग्ने गरेको छ ।

‘गाउँ नजिक पानीको कुनै स्रोत छैन । दुई घन्टा लगाएर पानी ल्याउनुपर्छ, पानी ओसार्दै दिन बित्छ । ५० वर्ष अघिदेखि पिउने पानीका लागि दुःख पाउँदै आएका छौँ,’ स्थानीय तिलबहादुर सार्कीले भने, ‘पिउने पानीका लागि कुनै नेता र सङ्घसंस्थाले वास्ता गरेका छैनन् ।’

यही नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तछाडमछाड हुने गरेको उनले बताए ।

पशु चौपाया र जङ्गली जनावरले पनि यही नाउलामै पिउने गर्दा पानी दूषित हुने गरेको उनले बताए । वर्षातको समयमा आकासे पानीको सङ्कलन गरेर खाने गरेको पनि उनले बताए । ‘बालबालिकाले समेत पढ्न नपाई पानी ओसार्नमै समय खर्चन्छन्,’ उनले भने ।

तीन हजार मिटरको उचाइमा रहेको प्यारगारा फूलचाउली गाउँमा पानी अभावले चर्पीको प्रयोग तथा सरसफाइमा समेत कमी देखिन्छ । पानी अभावमा नवआगन्तुकलाई बास बसाउन नै लाज लाग्ने गरेको भक्तबहादुर सार्कीले बताए । गाउँमा बनेका चर्पी प्रयोगविहीन छन् । स्थानीय बासिन्दा खोला खोल्सा र जङ्गलमा खुला शौच गर्न बाध्य भएका छन् । जसका कारण स्थानीय बासिन्दा झाडापखाला, आउँ, जुकालगायत रोगबाट पीडित हुने गरेका छन् ।

जिल्लाका सरकारी र गैरसरकारी निकायले बर्सेनि खानेपानी योजनामा करोडौँ खर्च गर्ने गरे पनि प्यारगारा, फूलचाउलीलगायत बस्ती भने सधैँ काकाकुल छ । (रासस)

प्रतिक्रिया दिनुहोस्