Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने


0
Shares

साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी कोअपरेटिभा मोरातोरीई सेमिन्टिस्टा डी रेभनासँग ठेक्का सम्झौता गरेको हो ।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माणका लागि रु ६ अर्ब ९६ करोडमा ठेक्का सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक हिमप्रसाद पाठकले जानकारी दिए ।

निर्माण व्यवसायीले यही महिनाको अन्त्यमा आयोजनास्थलको भ्रमणपछि निर्माणकार्य सुरु हुनेछ ।

‘काम सुरु गरेको चार वर्षभित्र निर्माणकार्य सम्पन्न गर्छौं’–पाठकले भने ।

आयोजना निर्माणका लागि ११ बैंकले रु ८ अर्ब ६५ अर्ब लगानी सम्झौता गरिसकेका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एआइडीसीएल), राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक, सेन्चुरी कमर्सियल बैंक, सानिमा बैंक, एनआइडीसीएल डेभलपमेन्ट बैंक, सनराइज बैंक, प्रभु बैंक र सिभिल बैंकले लगानीको सम्झौता गरेका हुन् ।

आयोजनाको लागत रु ११ अर्ब ८६ करोड रहेको छ । २७ प्रतिशत अर्थात् रु तीन अर्ब २१ करोड प्रवद्र्धकले स्वपुँजीकारुपमा लगानी गर्दैछन् भने बाँकी ७३ प्रतिशत बैंकको कर्जा लगानी हुने गरी सेयर संरचना तयार गरिएको छ ।

आयोजनाको लागत प्रतिमेगावाट रु १३ करोड ७९ लाख रहेको छ । आयोजनाबाट वार्षिक ५२ करोड ८ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएको छ ।

ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स), कम्पनी रजिष्टारको कार्यालय र वातावरण मन्त्रालयबाट अनुमतिपत्र लिइसकेको छ । आयोजना सोलुखुम्बुको तिङ्ला, कागेल र पञ्चन क्षेत्रमा पर्छ । रासस