
कैलाली, माघ २४ । कैलालीको गोदावरी नगरपालिकास्थित समैजी सामुदायिक वनले एकलौटी रुपमा लागु गरेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम विवादित बनेको छ ।
समितिका अध्यक्षले एकलौटी रुपमा कीर्ते हस्ताक्षर गरेर वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरेको भन्दै समितिका अन्य पदाधिकारी र आम उपभोक्ताले विरोध जनाएपछि विवाद बढेको हो ।
गोदावरी नगरपालिकाको वडा नम्बर ८ मा पर्ने समैजी सामुदायिक वनका अध्यक्ष जागुराम चौधरीले आफ्नो स्वार्थ पूर्तिका लागि समितिका अन्य पदाधिकारी, सदस्य र आम उपभोक्तालाई खबरै नगरी कीर्ते हस्ताक्षर गरेर एकलौटी रुपमा कार्यक्रम लागु गरेको वन उपभोक्ता समितिकी सचिव यमुन महतोको गुुनासो छ ।
झण्डै दुई सय ११ हेक्टर क्षेत्रफलमा फैलिएका वन व्यवस्थापनको महत्व र तरिकाको विषयमा अध्यक्षबाहेकको सिंगो समिति नै अनभिज्ञ छ । यस्तै अवस्थामा वनका पदाधिकारी र उपभोक्तालाई कुनै जानकारी नै नदिई त्यत्रो महत्वाकांक्षी कार्यक्रम लागु गरिएकोप्रति सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका हुन् ।
सामुदायिक वनका अध्यक्ष, डिभिजन वन कार्यालयका कर्मचारी र सव डिभिजन कार्यालय अत्तरियाका कर्मचारीको समेत यसमा बदनियत देखिएको उनीहरुको आरोप छ । स्थानीयवासीलाई यस विषयमा सचेत नै नगराई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु नगर्ने कैलालीका सहायक वन अधिकृत तथा सूचना अधिकारी भीम ढकालले बताए ।
कैलालीमा २०६८ सालदेखि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएपनि यसको औचित्य र उपलब्धिको बारेमा चर्चा भने एकदमै कम हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्