
भुमे गाउँपालिका वडा नम्बर–५ मा एउटै घरका सहोदर दाजु–बहिनी फरक–फरक पार्टीबाट उम्मेदवार बनेर अहिले चुनावी प्रचार–प्रसारमा व्यस्त रहेका छन् ।
दाइ हर्कप्रसाद सुनार नेकपा एमालेबाट वडासदस्यमा र बहिनी लीला सुनार नेकपा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा उम्मेदवार बनेका हुन् ।
एमालेका उम्मेदवार हर्कप्रसाद गाउँमा रहेको आधारभूत विद्यालय डलिबाङको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेकी लीलाले लामो समयदेखि स्वास्थ्य स्वयंसेविका, वन समूहको सचिवलगायतका सामाजिक काम गर्दै आएको स्थानीय रमेश बुढाले बताए ।
दुबै दाजु–बहिनी विगतदेखि नै समाजसेवामा रहेकाले कसले बाजी मार्छ भन्नेमा धेरैले चासो राखेका छन् । चुनाव नजिकिएसँगै दुबैले आफ्नो पार्टीको प्रचार–प्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
दुबैले आ–आफ्नो पार्टीले जित्ने दाबी गर्दै आएका छन् । हर्कप्रसादले ६ नम्बर वडामा एमालेको राम्रो पकड भएकाले आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताएका छन् ।
माओवादीको जित निश्चित भएकाले आफूले दाइलाई उम्मेदवार नहुन आग्रह गरेको तर उनले नमानेको लीलाको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्