राजपाबाट भएका ‘अराजनीतिक गतिविधि’ रोक्न एमालेको आग्रह « Image Khabar


राजपाबाट भएका ‘अराजनीतिक गतिविधि’ रोक्न एमालेको आग्रह


Imagekhabar
३० जेष्ठ २०७४, मंगलवार १९:२६

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले आगामी असार १४ गते हुन लागेको दोस्रो चरणअन्तर्गत् स्थानीय तहकोे निर्वाचनका लागि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेको हो ।

बैठकले राष्ट्रिय जनता पार्टी (राजपा)का नामबाट देशका विभिन्न भागमा भएको अराजनीतिक गतिविधि रोक्नसमेत आग्रह गरेको छ ।

राजपाले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी र नेपाल लोकतान्त्रिक फोरमलगायतका दलविरुद्ध कुटपिट, आगजनी र तोडफोड गर्ने, सार्वजनिक तथा सरकारी सम्पत्तिको तोडफोड गर्ने, सवारी–साधनहरुमाथि तोडफोड र आगजनी गर्ने, कर्मचारीहरुमाथि कुटपिट र दुव्र्यवहार गर्नेजस्ता घटनाको निन्दा र भर्त्सनासमेत बैठकले गरेको छ ।

एमालले यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै शान्ति–सुरक्षा कायम गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।

पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणअन्तर्गत् हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसार तथा संगठन परिचालनका लागि केन्द्रीय नेताहरु, सांसदहरु, जनसंगठनका केन्द्रीय नेताहरु साथै पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न ठाउँमा खटाउने निर्णय गरेको छ ।

पहिलो चरणका निर्वाचनका अनुभवहरूबाट शिक्षा लिँदै दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिंगो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

बैठकले दोस्रो चरणअन्तर्गत् स्थानीय तहको निर्वाचन असार १४ गते तोकिएको मितिमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै कुनैपनि बहानामा निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्रकाविरुद्ध सजग रहन आमजनसमुदायलाई आह्वान गरेको छ ।

निर्वाचनलाई पछि धकेल्ने र अन्योल सिर्जना गर्ने कुनैपनि कुराप्रति पार्टीको गम्भीर असहमति रहने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्