७ असार २०८२, शनिबार | Sat Jun 21 2025


कपिलवस्तुको चुनावी माहोल तातिँदै, राजपाको आन्दोलनले अन्योल


0
Shares

असार १४ गते हुने निर्वाचनका लागि कपिलवस्तुका प्रमुख दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।

१० स्थानीय तह रहेको जिल्लामा नेकपा एमालेले ९, नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले ८ तहमा उम्मेदवारको टुंगो लगाएर निर्वाचनमा होमिएका छन् ।

पार्टीले नामको टुंगो गरेसँगै उम्मेदवारहरु जिल्लाको उत्तरी क्षेत्र र राजमार्गकेन्द्रित भइ प्रचारमा व्यस्त रहेका छन् । उत्तरी क्षेत्रका बाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिका क्षेत्र चुनावमय बनेका छन् ।

जिल्लाको समग्र निर्वाचनको माहोललाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा प्रशासन पनि जुटेको छ ।

जिल्लामा २३३ मतदानस्थल र ३८७ मतदान केन्द्रमा हुने निर्वाचनमा सबैले आफ्नो मताधिकार प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले आग्रह गरेका छन् ।

दक्षिणी भेगमा भने राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चुनावमा सहभागी नहुने भएपछि मतदाता अन्योलमा परेका छन् ।

वर्षाको समय त्यसमाथि रोपाइँकोबेला चुनाव हुने भएपछि मतदाता पनि अन्योलमा परेका हुन् ।

राजपाले जेठ २९ देखि आन्दोलन नै घोषणा गरेपछि झन् अन्योल बढेको हो । राजपाका नेताहरु यो चुनावलाई नै असंवैधानिक भनिरहेका छन् ।

निर्वाचन आयोगले दलहरुलाई आधिकारिक हस्ताक्षर बुझाउन दिएको समयमा पनि राजपाका नेताहरुले हस्ताक्षर नबुझाएकाले उनीहरुको सहभागिता हुने सम्भावना न्यून रहेको हो ।

जिल्लामा १० स्थानीय तहमा २ लाख ८६ हजार ५४८ मतदाता छन् । निर्वाचन कार्यालयले सबै तयारी पूरा गरी स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणसमेत सुरु गरेको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले बताए ।

तराई–मधेसकेन्द्रित दलहरुमध्ये उपेन्द्र यादव र विजय गच्छदारले नेतृत्व गरेका दल जसरी पनि चुनाव गर्नुपर्ने पक्षमा रहँदै चुनावी प्रचारमा जुटिरहेका छन् ।