कक्षा–११ को परीक्षा राजपाको आमहड्तालको मारमा (भिडियो रिपोर्ट) « Image Khabar


कक्षा–११ को परीक्षा राजपाको आमहड्तालको मारमा (भिडियो रिपोर्ट)


Imagekhabar
३१ जेष्ठ २०७४, बुधबार १९:०६

निर्वाचनको मितिका कारण प्रभावित बन्दै आएको परीक्षा योपटक भने राष्ट्रिय जनता पार्टीको आमहड्तालका कारण अन्योलमा परेको छ । यसबाट परीक्षाको तयारीमा रहेका विद्यार्थीमाथि मानसिक दबाबसमेत परेको छ ।

स्थानीय निर्वाचनका कारण तीनपटकसम्म सरेको कक्षा–११ को परीक्षा बिहीबारबाट हुनेमा ढुक्क रहँदै तयारीमा रहेका विद्यार्थी मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आमहड्तालको घोषणा गरेपछि अन्योलमा परेका हुन् ।

राजनीतिक स्वार्थ पूरा गराउने हतियारकारुपमा नेपालको शिक्षा क्षेत्र प्रताडित बनेकाबेला पछिल्लोपटक फेरि त्यही राजनीतिक दाउपेचको शिकार हुन लागेका हुन् ।

स्थानीय निर्वाचनका कारण अघिल्ला वर्षहरुको तुलनामा एक महिना ढिलो सन्चालन हुन लागेको कक्षा–११ को परीक्षा राजपाको आमहड्तालको मारमा पर्ने देखिएको हो ।

परीक्षाको सम्पूर्ण तयारी सकिएकाले परीक्षा सन्चालन गर्न दिन दलहरुलाई राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेपनि त्यो पूरा हुनेमा आशंका छ ।

आन्दोलनरत् राष्ट्रिय जनता पार्टीले तराईका जिल्लाहरुमा परीक्षा हुन नदिने चेतावनी दिएकाले विद्यार्थी अन्योलमा परेका हुन् ।

निर्वाचनलक्षित बन्द र आमहड्तालको प्रभाव कक्षा–११ को परीक्षामा पर्न नदिन सरोकारवालाहरुले आग्रह पनि गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव डिल्लीराम रिमालले एक महिना ढिलो भएको परीक्षा अहिले पनि गर्न नसकिए विद्यार्थीकै भविष्यमा खेलबाड हुने बताए ।

११ को परीक्षा ढिलो हुँदा कक्षा–१२ को पाठ्यक्रम नै प्रभावित बन्ने भएकाले परीक्षा नबिथोल्न बोर्डले आग्रह गरेको छ ।

परीक्षाको मुखमा रहेका ४ लाख ५० हजार विद्यार्थीको भविष्यमा खेलबाड नगर्न सरोकारवालाको आग्रह छ । यीमध्ये २ लाख ३७ हजार छात्रा र २ लाख ११ हजार छात्र रहेका छन् । परीक्षाका लागि ९ हजार ९३ केन्द्र तोकिएको छ ।

परीक्षाको सबै तयारी सकिएकाले बिहान ७ देखि १० बजेसम्मको समयमा अवरोध नगरी परीक्षा सन्चालन हुने वातावरण गरिदिन आन्दोलनरत् दलहरुलाई परीक्षा बोर्डको आग्रह छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नृहोस्) ।

प्रतिक्रिया दिनुहोस्