
सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकास्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमि सुरुङमध्ये तीन किमि सुरुङ खन्ने काम अझै बाँकी भएकाले आगामी दसैंअगाडि राजधानीवासीलाई पानी खुवाउन असमर्थ रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताए ।
सुरुङ निर्माण गर्न अम्बाथानदेखि ग्याल्थुमसम्म १.५ किमि र ग्याल्थुमदेखि सिन्धुसम्म १.५ किमि गरी तीन किमी बाँकी नै भएको आयोजनाले जनाएको छ ।
सिन्धुको माथिल्लो भागमा कमसल चट्टान फेलापरेकाले चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उपकार्यकारी निर्देशक दुवाडीले भने–‘दैनिक १५ देखि बढीमा २३ मिटरसम्ममात्र सुरुङ खन्ने काम भएकाले दसैंको लक्ष्य भेट्न मुस्किल पर्ने देखिएको छ ।’
काममा तीव्रता दिन बेलाबेलामा ठेकेदार कम्पनीलाई निर्देशन दिइएपनि उपकरणहरु बारम्बार बिग्रिरहने कारणले पनि काममा असर पर्न गएको आयोजनाले जनाएको छ ।
कमसल भूभाग भेटिएपछि ठेकेदार कम्पनीले वैकल्पिक उपायका लागि प्रस्ताव पेस गरेकामा हाल भइरहेको कामभन्दा २/३ मिटरभन्दा बढी नखनेर तुलनात्मकरुपमा डबल खर्च लाग्ने देखिएको हुँदा त्यसलाई अपनाउन नसकिएको उपकार्यकारी निर्देशक दुवाडीले जानकारी दिए ।
यो वर्षको वडादसैं असोजको पहिलो सातादेखि सुरु हुने हुँदा दसैंअगाडि पानी लान दैनिक ३५ मिटरका दरले सुरुङ निर्माण गर्नुपर्ने देखिएको हुँदा दसैंअगाडि उपत्यकामा पानी पुर्याउन नसक्ने आयोजनाको धारणा रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्