२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति


0
Shares

पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पटक–पटकका वार्तामा आफ्नो दलले कुनैपनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दिँदै आएको उल्लेख गर्दै २ नम्बर प्रदेशको निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरेका छन् ।

सुरुमा एकै चरणमा गत वैशाख ३१ का लागि निर्धारित् मितिमध्ये चार प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै पार्टीले शंकाका दृष्टिले हेरेको उल्लेख गर्दै उनले असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमाभन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित भएको घटनाक्रमले पुष्टि गरेको आरोप लगाए ।

विज्ञप्तिमा भनिएको छ–‘प्रदेश नम्बर–२ मा निर्वाचन पछि सार्ने कदमले त्यहाँका जनताको आफ्ना प्रतिनिधि आफैं छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकारमात्र कुन्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्‍याएको छ ।’

प्रदेश नम्बर–२ मा पार्टीका नियमित काम अघि बढाउन मातहत कमिटीलाई निर्देशन दिँदै पार्टीले प्रदेश नम्बर–१, ५ र ७ मा असार १४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न जनसमुदाय, पार्टी मातहत कमिटी तथा नेता–कार्यकर्तालाई आह्वान गरेको छ । रासस