प्रदेश नम्बर–२ मा असोज २ गते निर्वाचन गर्ने सरकारको निर्णय

फाइल फोटो
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आग्रहअनुसार प्रदेश नम्बर–२ मा स्थानीय तहको निर्वाचन असोजमा तोक्ने निर्णय गरेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए ।
बैठकले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता यही असार २ गतेको सट्टा असार ४ गते सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।
दोस्रो चरणको निर्वाचनमा राजपाको सहभागिताका लागि उम्मेदवार मनोनयनको मिति दुई दिन पछाडि सारेको जनाइएको छ ।
प्रदेश नम्बर–१, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले बिहीबारै प्रदेश नम्बर–२ को निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका थिए ।
प्रदेश नम्बर–३, ४ र ६ मा स्थानीय तहको निर्वाचन पहिलो चरणमा गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ । रासस