२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौंका २०० स्थानमा यातायात संकेत बत्ती राख्न गृहमन्त्रीको निर्देशन


0
Shares

                                                                                  फाइल फोटो
गृह मन्त्रालयमा शुक्रबार आयोजित काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सरकारी निकायसँगको छलफलमा गृहमन्त्री शर्माले छोटो र सरल विधिबाट उपत्यकामा यातायात संकेत बत्ती राख्न निर्देशन दिँदै भने–‘काठमाडौंका २०० चोकमा संकेत बत्ती जडान गरौं, त्यसका लागि कति खर्च लाग्छ ? त्यसको समग्र हिसाब–किताब उपलब्ध गराउनोस् ।’

ट्राफिक संकेत बत्ती राख्न दातृनिकायको मुख ताक्न नहुने उल्लेख गर्दै उनले ‘सरकार आफैंले सडकमा बत्ती बाल्न नसक्ने हो भने त्योभन्दा लाजमर्दो स्थिति अरू हुनै नसक्ने’ उल्लेख गरे ।

सड्क विभाग, यातायात व्यवस्थापन विभाग, ट्राफिक प्रहरी महाशाखा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं महानगरपालिकालगायतका सरकारी निकायका प्रमुखलाई मन्त्री शर्माले तीन दिनभित्र ट्राफिक व्यवस्थापनको योजना पेस गर्न निर्देशन दिए ।

‘काठमाडौं उपत्यकामा आकाशेपुलको टेन्डर गरिहाल्नोस्, दुई–चारओटा पुल बनाउने पैसा पनि छैन सडक विभागसँग ?–मन्त्री शर्माले प्रश्न गर्दै भने–‘पैसोको व्यवस्थापन म गरिदिन्छु ।’

यातायात व्यवस्था विभागका महानिर्देशक गोपाल सिग्देललाई मन्त्री शर्माले उपत्यकाका ८०० स्थानका जेब्रा क्रसिङको रेखांकन कम्तीमा १५ दिनभित्र सिध्याउन निर्देशन दिए ।

उपत्यकाको अस्तव्यस्त ट्राफिक व्यवस्थापन सुधार्न पहिले ठूला बस हालेर सानालाई विस्थापन गर्दै लानुपर्ने उल्लेख गर्दै उनले भने–‘सडकसँगै जोडिएका पेट्रोलपम्प विस्थापनका लागि सूचना दिऔं र नयाँ आधारमा सुधारको प्रयास थालौं ।’

छलफलकाक्रममा नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले अव्यवस्थित पार्किङ हटाउनुपर्ने तर ठेक्कामा दिन नहुने बताए ।

उनले भने–‘सशुल्क पार्किङमा गुन्डाराज भयो, सिन्डिकेट पनि प्रमुख समस्याकारुपमा रहेको छ, त्यसलाई पूर्णरुपमा हटाउन कडारुपमा प्रस्तुत् हुनु जरुरी छ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यालय समयमा सार्वजनिक सवारीमात्रै चल्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

काठमाडौं उपत्यका नगर विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले उपत्यकामा पार्किङको समस्या ठूलो रहेको उल्लेख गर्दै त्यसलाई व्यवस्थापन गर्नसके ट्राफिक समस्या धेरै हदसम्म समाधान हुने बताए ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआइजी मिङ्मार लामाले उपत्यकाका १८ स्थानमा आकाशेपुल बनाइए समस्या समाधान हुनसक्ने धारणा राखे ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यो वा त्यो नभनीकन फुटपाथको व्यापार हटाउने बताए ।

उनले भने–‘फुटपाथका व्यापारीसँग हाम्रो मिलेमतो पो छ कि भनेर जनताले प्रश्न उठाएका छन्, बसस्टप हैन, स्टेसन बनाऔं, चढाउन र ओराल्नेबाहेक एक मिनेट पनि सवारी रोक्न नदिने पद्धति विकास गरौं ।’ रासस