राजपा शीर्ष नेताहरु सहभागी कार्यक्रमस्थल तनावग्रस्त (भिडियोसहित) « Image Khabar


राजपा शीर्ष नेताहरु सहभागी कार्यक्रमस्थल तनावग्रस्त (भिडियोसहित)


Imagekhabar
३ असार २०७४, शनिबार १८:५९

राजपा अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरसहित शीर्ष नेताहरु सहभागी कार्यक्रमस्थल पनि तनावपूर्ण बनेको छ ।

स्थानीय तह निर्वाचनको विरोधमा राजपाले नवलपरासीको सदरमुकाम परासीमा लाठीजुलुस प्रदर्शन गरेको थियो ।

लाठीजुलुसपछि बुद्धचोकमा आयोजित सभालाई राजपा संयोजक महन्थ ठाकुरले सम्बोधन गरिरहँदा एक्कासि कार्यक्रमस्थल तनावग्रस्त बनेको हो ।

कार्यक्रमस्थलनजिक रहेको मध्य नेपाल यातायत व्यवसायी समितिमा बसबाट लैजानका लागि नेकपा एमालेको प्रचार–प्रसारका लागि टिसर्टहरु राखिएको थियो । उक्त टिसर्टहरु महन्थ ठाकुरसहितका शीर्ष नेताहरुकै अगाडि जलाइएको थियो ।

केही कार्यकर्ताहरु टिसर्टहरु राखेको भन्दै मध्य नेपाल यातायात समितिमा पुगेर तोडफोड गर्न थालेपछि राजपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । सोक्रममा प्रहरीले केही सेल अश्रृग्यास र रबरको गोली प्रहार गरेको छ ।

तनाव भएपछि ठाकुरले बीचमै सम्बोधन छाडेका थिए । अश्रुग्यास प्रहार हुन थालेपछि ठाकुरसँगै राजेन्द्र महतो नजिकै रहेका होटलहरुमा लुक्न पुगेका थिए ।

नेता ह्रदयश त्रिपाठीले कार्यकर्तालाई संयम हुन आग्रह गरेका थिए । तर, स्थिति उग्र हुन थालेपछि प्रहरीले रबरको गोली र अश्रृग्यास प्रहार गरेको हो । रबरको गोली लागेर दुईजना घाइते भएका छन् ।

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्