लक्ष्मी लामा/प्रदीप तामाङ (इमेज)
काठमाडौं, असार १९ । वि.सं. २०७१ साल फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएर थन्किएको टर्किस एअरलाइन्सको एअरबसलाई एभिएसन म्युजियम बनाइएको छ ।
काठमाडौंको सिनामंगलमा बनाइएको यो म्युजियम आकर्षणको केन्द्र बन्न थालेको छ ।
नेपाल नागरिक उडडयन प्राधिकरण र बेद उप्रेती ट्रष्टको सहकार्यमा करिब ७ करोड रुपैयाँको लगानीमा तयार पारिएको म्युजियम बालबालिकाहरुका लागि आकर्षणको केन्द्र बनेको कुरा त नौलो होइन । तर, पाटन रोटरी क्लबका रोट्रर्याटहरुले बैठकस्थलका लागि रोज्नुचाहिँ पक्कै नौलो हो ।
विश्वमा चर्चित एभिएसन म्युजियम भएपनि ७७ मिटर लामो एअरबस ३३० भित्रको यो ‘मिनि प्लेन म्युजियम’ भने विश्वकै पहिलो भएको दाबी गरिएको छ ।
संग्रहालयमा जहाजका स्वरुप, तस्वीर, नक्सा, उपकरण र चालकदलले प्रयोग गर्ने पोसाक पनि राखिएको छ ।
यस संग्रहालयमा पाइलटले ककपिटमा बसेर कसरी जहाज उडाउँछन् ? भन्ने जानकारीसमेत दिने गरिएको छ ।
त्यतिमात्र कहाँ हो र ? म्युजियममा एअर ट्राफिक कन्ट्रोलर र पाइलटबीच हुने संवाद पनि सुन्न सकिन्छ ।
एभिएसन म्युजियमभित्र सातओटा हल रहेका छन् । यही हलको प्रयोग गरी पाटन रोटरी क्लबका रोटरीएनहरुले बैठक आयोजना गरेका हुन् ।
हाल संसारभरि १५ लाख रोटरीयनहरु रहेको र नेपालमा चार हजारभन्दा बढी रोटरीयनहरु रहेको बताइएको छ ।
नेपालमै १६० भन्दा बढी रोटरीयन क्लबहरु रहेकाले पाटन रोटरी क्लब पनि तिनैमध्येको एक हो ।
एभिएसन म्युजियम नै रोज्नुको कारणमा नयाँ जोस–जाँगरका साथ नौलो काम थालनी गर्नु र अरुलाई पनि प्रेरणा दिनु भएको पाटन रोटरीका पूर्वअध्यक्षको तर्क रहेको छ ।
यो म्युजिएम अवलोकन गर्न आउनेहरुलाई म्युजियमबारे डकुमेन्ट्री देखाउनेदेखि प्रथम विश्वयुदेखि हालसम्म प्रयोग भएका जहाजहरुको ‘मोडल’हरुसमेत देखाउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्