
जिल्लाका १२ वटै स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्वक रुपमा सम्पन्न भएपछि मतदाताहरु समेत भोट हाल्न उत्साहित भएका छन् ।
सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनीमा, बराह नगरपालिका तथा कोसी, भोक्राहा, हरिनगरा, देवानगन्ज, बर्जु, गडी गाउँपालिकामा शान्तिपूर्वक रुपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको सुनसरीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए ।
सुनसरीमा प्रमुख राजनीतिक दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राप्रपा, लोकतान्त्रिक पार्टी नेपाल, साझा पार्टी र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गर्न आउने दलहरुले उम्मेदवारहरुको साथमा सयौं कार्यकर्तासहित निर्वाचन कार्यालयसम्म नारा जुलुस गर्दै उपस्थित भएका थिए ।
सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले सुनसरीमा उम्मेदवारी मनोनयन दर्ता उत्साहपूर्वक सम्पन्न भएकाले दोस्रो चरणको निर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
सुनसरीमा ४ लाख ६१ हजार एक सय ५९ जना मतदाता छन् । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ३७ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्