चुनावमा राजपाको सहभागिता अनिश्चित बनेपछि सरकार अप्ठ्यारोमा परेको छ ।
राजपासँगको सहमतिमै दुई नम्बर प्रदेशमा चुनावको मिति सारिएको सरकारी दाबी त्यतिबेला असत्य सावित भयो, जतिबेला राजपाका नेताहरुले सरकारसँग कुनै सहमति नभएको बताए । राजपाले अन्य प्रदेशमा समेत निर्वाचन स्थगित गर्न माग गर्यो र त्यसो नभएसम्म चुनावमा सहभागी नहुने अडान राख्यो ।
जुन दललाई चुनावमा सहभागि गराउने भनेर सरकारले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा गर्ने निर्णय गर्यो, अन्ततः त्यही दल चुनावमा सहभागी नभई आन्दोलनमा होमियो । त्यसपछि चुनाव सार्नुको औचित्य पुष्टि हुन सकेन ।
मधेशी जनताले चुनाव चाहेको अवस्थामा चुनाव सार्नु गलत भएको निश्कर्षमा कतिपय मधेश केन्द्रीत दल पनि पुगेका छन् । संघीय समाजवादी फोरमकी नेतृ सरिता गिरीलाई पनि चुनावको तिथि सारेको पटक्कै मन परेको छैन । संविधान संशोधनको मुद्दा दलले टुंग्याउन नसेकेको अवस्थामा जनतामाझ जानु उचित हुने गिरीको सुझाव छ ।
सरकारले दुई नम्बर प्रदेशको चुनाव असोज ३ गते गर्ने भनि गरेको निर्णय एमालेकी नेतृ रञ्जु झालाई पनि मन परेको छैन । मिति सार्ने निर्णयले दुई नम्बर प्रदेशका जनतामाथि विभेद भएको उनको भनाइ छ ।
नेपाली कांग्रेसकी नेतृ किरण यादव भने सरकारले गरेको निर्णय दुई नम्बर प्रदेशका जनताको हितमा भएको बताउँछिन् । अहिलेको अवस्थामा चुनाव हुँदा मुठभेड हुने भएकाले पहिलेका घटना दोहोरिन नदिन र सहमतिकै लागि चुनाव सार्न नेतृत्वलाई दुई नम्बर प्रदेशका प्रतिनिधिले सुझाव दिएको यादवको भनाइ छ ।
केहीले भने सरकार र राजपा दुबैको नीति प्रष्ट नभएकाले अहिलेको अवस्था सृजना भएको विश्लेषण गर्ने गरेका छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्