
कुनै समय विश्वभर आफ्नो प्रभुत्व जमाएर तहल्का मच्चाएको ब्रिटेन अहिले भने शृंखलाबद्ध आक्रमणबाट तर्सिएको अवस्थामा छ ।
ब्रिटेनको लन्डनस्थित वेस्टमिन्स्टर ब्रिजनजिक गरिएको चक्कु आक्रमणमा पाँचजनाको मृत्यु भयो, मार्चमा ।
यसको एक महिनापछि म्यानचेस्टर सहरमा एउटा सांगीतिक कन्सर्टमा गराइएको बम विस्फोटमा १९ जनाको मृत्यु भयो । घटनालगत्तै ब्रिटिस प्रधानमन्त्री थेरेसा मेले भनिन्–‘डरलाग्दो आतंकवादी आक्रमण’ ।
जुनमा मध्य लन्डनस्थित लन्डन ब्रिजमा रहेका पैदलयात्रीमाथि एउटा भ्यान लगेर ठोक्काइ नजिकैको बरो मार्केटको पव र रेस्टुराँमा जम्मा भएकाहरुमाथि अन्धाधुन्द छुरा प्रहार गर्दा सातजनाको हत्या भयो । प्रधानमन्त्री मेको प्रतिक्रिया आयो–‘अब त अति भयो’ ।
आतंकको गति अति हुँदै जाँदा जुन १९ मा आएर लन्डनमा एउटा भ्यानले स्थानीय मस्जिदमा प्रार्थना गरेर फर्केका मुस्लिम समुदायका मानिसहरुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भयो ।
न्युयोर्क र वासिङटनभन्दा लन्डन अतिवादीहरुको बढी नै निशानामा परेको अध्ययनको निश्कर्षलाई सही सावित गरिदिएको छ, केही महिनायताको यस प्रकारका आक्रमणको शृंखला हेर्दामात्र पनि ।
ब्रिटेनकी प्रधानमन्त्री मेलाई यस्ता आक्रमण चुनौती बनिरहे एकपछि अर्को आक्रमण भोग्दै गर्दा ।
पश्चिमी युरोपेली राजधानी सहर आतंककारीको निशानामा बढी पर्ने गरेका छन् । जर्मनी, टर्की र इटालीमा गराइएका आक्रमण यसका उदाहरण बनेका छन् । युरोपभरि नै शान्त सहरकारुपमा मानिँदै आएको लन्डन यसको अपवाद बन्न सकेन ।
विज्ञहरुले इराक युद्धमा तात्कालीन प्रधानमन्त्री टोनी ब्लेयरको समर्थन र ब्रिटेनमा ठूलो मुस्लिम जनसंख्या रहेको कारण पनि त्यहाँ साना प्रविधियुक्त तर विनाशकारी आत्मघाती आक्रमणको खतरा रहेको औंल्याउँदै आएका थिए ।
गत वर्षमात्र मुस्लिम विश्वको नजरमा अमेरिकाको बलियो सहयोगीकारुपमा ब्रिटेनले आफूलाई पुनः प्रस्ट्याइसकेकाले पनि आतंककारी समूहको ध्यान त्यहाँ परेको विश्वास गर्न थालिएको छ ।
आफ्नो उपस्थिति बलियो देखाउन राजधानीमा नै आक्रमणमा उत्रनु उनीहरुका लागि महत्वपूर्ण हुनसक्छ । यस्तै, घरेलु पृथकतावादी चरमपन्थीको सक्रियताले पनि ब्रिटेनमा आतंक फैलाउन मद्दत पुगेको बताइन्छ । र, उनीहरुको निशानामा ब्रिटेनी मुस्लिमहरु पर्ने गरेका छन् ।
लन्डनमा भएका पछिल्ला आक्रमण रोक्न अत्यन्त गाह्रो मानिन्छ । किनकि, यस्ता आक्रमण अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा गरिएकोजस्तो लामो योजना, सूचना आदान–प्रदान र आर्थिक चलखेलपछि गरिएका आक्रमण थिएनन् ।
भीडमा पसेर चक्कु हान्ने, पेस्तोल प्रहार गर्ने र बटुवामाथि सवारी–साधन गुडाउनेजस्ता आक्रमणका सूचना पाउन र नियन्त्रण गर्न सुरक्षा निकाय र गुप्तचरी संयन्त्र त्यति सफल देखिएका छैनन् ।
ब्रिटेनमा बढेको आतंकवादी आक्रमणपछि महारानी एलिजावेथले राष्ट्रव्यापीरुपमा छाएको उदासी छल्न मुस्किल भएको बताइन् ।
आफ्नो ९१औं जन्मदिनको औपचारिक विज्ञप्तिमा उनले दुखान्त परिस्थितिहरुमा आफू चुपचाप रहन नसक्ने निर्णय गरिन् । संवैधानिक संस्थाबाट यस किमिमको कडा अभिव्यक्ति आउनुको कारण मुलुकमा बढेको आतंकलाई ठानियो । जसको अर्थ खोज्नेक्रम सुरु भइसकेको छ ।
हालैमात्र ब्रिटेन र अमेरिकाले संवेदशनील गुप्तचरी जानकारी आदान–प्रदान गर्न बन्द गरेका छन् । यसको असर आतंककारी गतिविधि नियन्त्रणमा पर्ने देखिन्छ ।
तरपनि आतंककारी आक्रमणको बढ्दो शृंखला तोड्न ब्रिटेन कसरी सफल होला भन्ने प्रश्न भने यक्ष बनेर उभिएको छ । –एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया दिनुहोस्