
अन्तर्राष्ट्रिय उडान भरिरहेको सो विमान करिब ३५ हजार फिटको उचाइमा रहेकाबेला विमानमा नै उनले छोरा जन्माएकी हुन् ।
नाम नखुलाइएकी एक २० वर्षीया भारतीय महिलाले उनलाई चिकित्सकले दिएको समयभन्दा अगावै सो बच्चा जन्माएको बताइएको छ ।
साउदी अरेबियाको दामानबाट दक्षिण भारतीय राज्य केरलाको कोचीतर्फ गइरहेको जेट एअरवेजको बोइङ ७३७ विमानमा बच्चा जन्मिएको हो ।
जेट एअरवेजले प्रकाशन गरेको विज्ञप्तिमा उडानकैक्रममा बच्चा जन्मिएपछि विमानलाई मुम्बईमा अवतरण गराइ ती आमा र बच्चालाई अस्पताल पुर्याइएको छ ।
बच्चा र आमाको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको छ । विमानमा बच्चा जन्मिनेक्रममा विमानमा रहेका स्वास्थ्य कार्यकर्ता र विमानका कर्मचारीले सहयोग गरेका थिए ।
बोइङ ७३७ उडानमा १६२ जना यात्री सवार रहेका र मुम्बईमा सो विमान अवतरण गरिएको उक्त एअरवेजले जनाएको छ ।
ती महिला र नवजात शिशुलाई विमानस्थलनजिकैको अस्पतालमा लगिएको बताइएको छ । उक्त एअरवेजले पहिलोपटक आफ्नो एअरवेजमा यसरी आकाशमै बच्चा जन्मिएको जनाएको छ ।
मुम्बईको होली स्पिरिट अस्पतालले एएफपी समाचार समितलाई बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको जानकारी दिएको छ ।
जेट एअरवेजले यसप्रकार विमानमा बच्चा जन्मिएको यो पहिलोपटक भएको र ती बच्चालाई उनको जीवनभरि एअरलाइन्सले निःशुल्क यात्रा गराउने बताएको छ ।
गत अगस्तमा पनि संयुक्त अरब इमिरेट्सको फिलिपिन्स गइरहेको विमानमा यसरी नै बच्चा जन्मिएको थियो ।
सो विमानलाई दक्षिणी भारतीय सहर हैदरावादमा आकस्मिक अवतरण गराइ आमा र बच्चालाई नजिकैको अस्पताल पुर्याइएको थियो । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्