४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


भारतमा भाजपाले बनायो दलितलाई राष्ट्रपतिको उम्मेदवार


0
Shares

पिछडिएको समुदायलाई अगाडि बढाउन भन्दै दलित समुदायका एक व्यक्तिलाई भाजपाले सोमबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न लगाएको जनाएको छ ।

मुलुकको सबैभन्दा माथिल्लो औपचारिक पदका लागि ७१ वर्षीय रामनाथ कोभिन्डले उम्मेदवारी दर्ता गराएका हुन् । राज्यको सबैभन्दा उच्चपदमा यसअघि एकजनामात्रै दलित पुगेका थिए ।

वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको अर्को महिना कार्यकाल सकिने भएकाले भारतमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन लागेको छ ।

राष्ट्रपति छनोट गर्न भारतमा केन्द्रीय र प्रदेश संसदका सांसदहरुले मतदान गर्ने व्यवस्था छ । सत्तारुढ दल भाजपाले आफ्ना उम्मेदवारलाई विजयी बनाउन सवैबाट आवश्यक सहयोग पाउने विश्वास लिएको छ ।

‘रामनाथ कोभिन्ड पहिलेदेखि नै सधैं पिछडिएको समुदाय र दलित समुदायको उत्थानका लागि लडिरहनु भएको व्यक्ति हुनुहुन्छ’–भाजपाका प्रमुख अमित शाहले पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा भने ।

‘तल्लो जात मानिने दलित र अतिगरिब समुदायमा जन्मिएको व्यक्ति उहाँ राष्ट्रपति पदका लागि सर्वसम्मत् उम्मेदवार हुन सक्नुहुन्छ भन्ने भाजपालाई विश्वास छ’–उनले थपे ।

सामान्यतया मथिल्लो समुदायका हिन्दूहरुको समर्थन गर्ने मानिने भाजपाले तल्लो जातका भनिने मतदाताहरुलाई पनि समर्थनका लागि देशव्यापी आह्वान गरेको छ ।

कोभिन्ड दुईपटकसम्म सांसद भइसकेका छन् भने अहिले भारतको पूर्वी राज्य विहारमा गभर्नर छन् । उनले जीवनभरि हिन्दू राष्ट्रवादी पार्टी भाजपालाई समर्थन गरिरहेका छन् ।

विपक्षीहरुको नेतृत्व गरिरहेको कांग्रेस पार्टीले मंगलबार कोभिन्डलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न उनलाई भेट्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै ‘खास प्रकारको राष्ट्रपति’ बनाउन आह्वान गरेका छन् ।

उनले दलित, तल्लो जात, पिछडिएको र गरिब समुदायको आवाजलाई समर्थनको निरन्तरताका लागि पनि अनुरोध गरेका छन् ।

यसअघि, दलित समुदायको तर्फबाट पहिलो राष्ट्रपति भएका केआर नारायननले सन् १९९७ देखि २००२ सम्म मुलुकको सर्वश्रेष्ठ पदको जिम्मेवारी सम्हालेका थिए ।

कोभिन्ड निर्वाचित भए भने उनी भारतको दलित समुदायले दोस्रो राष्ट्रपति प्रतिनिधित्व गराउनेछ । रासस/एएफपी