Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


अल्ट्रा धावक तथा आरोही सन्जय पण्डितको शव नेपाल ल्याउन पहल हुँदै


0
Shares

पण्डितसँग आरोहणमा सहभागी टाँसी शेर्पा‘नेपाली’ लगायत दुताबासको पहलमा कानुनी पक्रिया पुरा भएको बताइएको छ ।

अमेरिकी प्रक्रिया पुरा भइसकेकाले नेपालको परराष्ट्र मन्त्रालय र दुताबासको पहलमा नेपाल ल्याउन तयारी सुरु भएको छ ।

वासिंङटन डिसीस्थित नेपाली दूताबासका अनुसार खराब मौसमका कारण शव न्यूयोर्कसम्म ल्याउन निकै समय लागेको थियो ।

दूताबासका अनुसार अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा उनको निधन भएको हो ।

शवको पोष्टमार्टम भइसकेको अमेरिकामा रहेका पत्रकार होमप्रसाद लम्सालले जानकारी दिएका छन् । उनका अनुसार दुताबासको सहयोगमा केही दिनमै शव नेपाल पठाइने छ ।

उनको जुन १६ मा निधन भएको दूतावासले जनाएको छ । एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत जुन ३ मा गएर २६ मा फर्किने उनीहरुको योजना थियो ।

करिब १७ हजार २ सय फिटमाथि हाइ अल्टिट्युड सिकनेसका कारण उनको निधन भएको हो ।

पण्डित एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत डेनाली चढ्न गएका थिए । उक्त समूहलाई टासी शेर्पाले नेतृत्व गरेका थिए ।

संसारका केही अग्ला चुचुरा आरोहण गरिसकेका पण्डितले सन् २०१३ मे १९ मा सगरमाथा आरोहण गरेका थिए ।

पण्डितको निधन भएपछि सामाजिक सन्जालहरु श्रद्धाञ्जलीका शब्दहरुले रंगिएका छन् ।

उनीसँगै डेनाली हिमाल चढ्न गएका टाँसी शेर्पाले संचारमाध्यमहरुमा दिएको जानकारी अनुसार हिमालको पाँच नम्बर क्याम्पमा पुगेपछि पन्डितलाई समस्या भएको थियो ।

डेनाली समिटनजिकै पुगेपछि उनी हिड्न नसक्ने भएका थिए ।

हिड्न नसक्ने गरी अचेत भएका पण्डितले अन्तिममा श्रीमतीसँग भेट्ने इच्छा ब्यक्त गरेका थिए । तर त्यो सम्भव थिएन् । विहानको चार बजे उनको मृत्यु भएको हो ।

अमेरिकी सरकारको डेनाली नेशनल पार्क भित्र रेन्जर फोर्सको टोलीले उनीहरुलाई उद्धार गरी अस्पताल पुर्याएका थिए ।