संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन २० मा शरणार्थी सम्बन्धी जनचेतना फैलाउने र शरणार्थीको पक्षमा एकताबद्ध हुन आग्रह गर्दै यो दिवस मनाउने गरिन्छ ।
विश्वमा युद्ध, भोकमरी, मौसमी प्रतिकूलताका कारण लाखौं मानिस आफ्नो थातथलो छाडेर शरणार्थी बन्न बाध्य भइरहेका छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग युएनएचसिआरले शरणार्थीको पक्षमा विश्व समुदायलाई एकताबद्ध गर्न विभिन्न काम गर्दै गएको छ ।
आयोगले गएको वर्षभर ‘शरणार्थीसँग’ नामक अभियान चलाएको थियो ।
शरणार्थी बन्न बाध्य हरेक बालबालिकाले शिक्षा पाउनु पर्ने, शरणार्थी परिवारले सुरक्षित बास पाउनुपर्ने र हरेक शरणार्थीले नयाँ कुरा सिक्न तथा क्षमता अनुसारको काम गर्न पाउनुपर्नेमा युएनएचसिआरको जोड रहँदै आएको छ ।
विश्वमा हरेक ११३ जनामा एक जना शरणार्थी बन्न बाध्य रहेको तथ्यांक छ ।
अहिले विश्वमा ६ करोड ५६ लाखभन्दा बढी शरणार्थी छन् भने हरेक दिन हजारौं परिवार आफ्नो घर छोड्न बाध्य पारिएका छन् ।
यस अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले शरणार्थीले आफ्नो घर तथा ठाउँ छोड्न बाध्य भएपनि आफ्नो सपना तोड्न बाध्य नहुने र उनीहरुको सपना पूरा गर्न सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्