
उम्मेदवारहरु तीव्र प्रतिष्पर्धामा छन् र परिणामलाई लिएर उनीहरुको ढुकढुकी बढ्दो छ ।
झापाको चुनावी माहोललाई झनै उत्कर्षमा पुर्याएका छन्, विभिन्न दलका प्रभावशाली केन्द्रीय नेताहरुले । असार महिनाको टन्टलापुर घाममा पनि शीर्ष नेताहरुको दौडधुप चलेकै छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापामा निकै व्यस्त रहे । झापा बसाइँकाक्रममा अध्यक्ष ओलीले एकैदिन आधा दर्जनसम्म चुनावीसभालाई सम्बोधन गर्न भ्याए ।
त्यतिमात्र होइन, अध्यक्ष ओलीले बिहानीको झिसमिसेदेखि राति अबेरसम्म स्थानीय कार्यकर्तासँग भेटघाट पनि गरे ।
यस्तै, नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पनि गृहजिल्ला झापामा निकै व्यस्त रहे । झापा बसाइँकोक्रममा नेता सिटौलाले पनि विभिन्न चुनावीसभालाई सम्बोधन गरे ।
नेपालको केन्द्रीय राजनीतिमा ठूलो प्रभाव राख्ने यी दुई नेताको सक्रियताले झापाको चुनावी रौनकलाई झनै उत्कर्षमा पुुयाएको छ । यी दुई नेतामात्र होइन, एक साताको अवधिमा एक दर्जनभन्दा बढी विभिन्न दलका प्रभावशाली केन्द्रीय नेताहरु झापा पुगेका छन् ।
झापामा विभिन्न स्थानीय तहका उम्मेदवारहरुले पनि मतदतालाई रिझाउन विभिन्न एजेन्डा अघि सारेर घरदैलो गरिरहेका छन् ।
विगतका निर्वाचनलाई हेर्ने हो भने २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाहेक अन्यमा एमालेको बर्चस्व रहँदै आएको छ । यसपालि आफ्नो विरासतलाई कायमै राख्ने एमालेको विश्वास छ ।
एमालेका लागि झापामा देखिएको आन्तरिक असन्तुष्टि टाउको दुखाइको विषय बनेको छ ।
नेपाली कांग्रेस भने झापामा रहेको एमालेको विरासत भत्काउन प्रयासरत् छ । यसकै लागि गृहजिल्ला झापा नै भएका कांग्रेसका प्रभावशाली नेता सिटौला झापाकेन्द्रित भएका छन् ।
जिल्लामा आ–आफ्नो निर्वाचन क्षेत्र भएकाले पनि केपी ओली र कृष्ण सिटौलाले स्थानीय तह निर्वाचनलाई महत्वकासाथ लिएर सक्रियता देखाएको र प्रतिष्ठा जोगाउने र भत्काउने रणनीतिमा लागेको स्थानीयहरुको बुझाइ छ ।
१५ ओटा स्थानीय तह रहेको झापामा ३ हजार ३४० जना चुनावी प्रतिस्पर्धामा छन् ।
विभिन्न दल र स्वतन्त्र उम्मेदवारको आ–आफ्नै दाबी भएपनि झापामा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्