
सोलुखुम्बु, असार १९ । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ ।
मौसम प्रतिकूलताका कारण तारा एअरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो ।
नाइनएनएकेके कलसाइन भएको उक्त विमान अझै केहीदिन लुक्लाबाट काठमाडौं जानसक्ने सम्भावना नदेखिएको तारा एअर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिए ।
शुक्रबार मौसम प्रतिकूल हुँदा पनि यहाँ अवतरण गरिएका दुईओटा विमानमध्ये समिट एअरको विमान यात्री लिएर तत्काल फर्कन सफल भएपनि तारा एअरको विमान भने फर्किन नसकेको तारा एअर लुक्लाले जनाएको छ ।
विमान कम्पनीको नियमअनुसार ४८ घन्टाभन्दा बढी सोही विमानस्थलमा राख्नुपर्ने अवस्था आएमा प्राविधिकले निरीक्षण गरेपछिमात्र उडान गर्नुपर्ने हुन्छ ।
नियमअनुसार अब लुक्लामा प्राविधिक आएर विमानको अवस्थाबारे निरीक्षण गरेपछिमात्र उक्त विमानले उडान गर्ने बताइएको छ ।
अहिले जिल्लाको माथिल्लो क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण जिल्लाको अर्को विमानस्थल फाप्लुमासमेत कुनै उडान हुनसकेको छैन ।
यहाँ हेलिकोप्टरलेसमेत उडान भर्नसक्ने अवस्था नरहेको फाप्लु विमानस्थलले जनाएको छ ।
हेलिकोप्टरलेसमेत उडान भर्न नसक्दा आकस्मिक बिरामीलाई काठमाडौं लैजान समस्या भएको सोलु हेल्थकेयर सेन्टर सल्लेरीका निर्देशक डा. राजेन्द्र बस्नेतले बताए ।
‘सघन उपचारकक्ष (आइसीयु)मा राखेर उपचार गर्नुपर्ने बिरामी छन् । तर, लैजान सकिएको छैन । मान्छेको ज्यान बचाउन मुस्किल पर्यो’–उनले भने–‘अक्सिजन छुटायो भने एक घन्टाभन्दा बढी बचाउनसक्ने अवस्था छैन । गाडीबाट लानसक्ने स्थिति हुने कुरै भएन । मौसम प्रतिकूलताका कारण हेलिकोप्टरसमेत आउन सकेन ।’
गत असार १५ गते जिल्लाको सोलुदूधकुन्ड नगरपालिका–११, तिङ्लामा जीप दुर्घटनामा ज्यान गुमाएका दुईजना कर्मचारीको शव हेलिकोप्टरबाट गृहजिल्ला लाने तयारी गरे पनि सफल हुन सकेन ।
दुई दिनसम्म हेलिकोप्टरको पर्खाइमा बसे पनि सफल नभएपछि जीपमार्फत् नै लगिएको सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले बताइन् ।
लुक्ला विमानस्थलमा उडान हुन नसक्दा पर्यटक अलपत्र परेको तारा एअर लुक्लाका स्टेसन इन्चार्ज फुनुरु शेर्पाले बताए ।
उनले भने–‘यति नै यात्रु छन् भन्ने यकिन तथ्यांक छैन । केही यात्री पैदल यात्रापछि सदरमुकाम सल्लेरीबाट जीपमार्फत् गएको बुझिएको छ भने केही यात्री एक घन्टाको पैदल यात्रापछि तल सुर्के पुगेर हेलिकोप्टरमार्फत् गइरहेका छन् ।’
देशभर भएको अविरल वर्षाको प्रभाव सोलुखुम्बुमा पनि परेपनि कुनैपनि अप्रिय घटना भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्