Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


दाहालले कुलमानलाई भने–‘सुदूरपश्चिममा लोडसेडिङ तत्काल अन्त्य गर्नोस्’


0
Shares

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अभियानमा सहभागी भएर काठमाडौं फर्किएपछि अध्यक्ष दाहालले शनिबार कार्यकारी निर्देशक घिसिङलाई बोलाएर ‘सुदूरपश्चिमाञ्चल क्षेत्रमा किन विद्युत् कटौती गरिएको हो ?’ भनेर जिज्ञासा राखेका थिए ।

प्रदेश नम्बर–७ को सुदूरपश्चिमको विद्युत्भार कटौतीको अन्त्य गर्ने विषयमा प्रभावकारी कार्ययोजनाका साथ काम गर्न अध्यक्ष दाहालले कार्यकारी निर्देशक घिसिङलाई तत्काल प्रक्रिया सुरु गर्न आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

चुनावी अभियानकाक्रममा तीन दिनअघि सुदूरपश्चिम पुगेका अध्यक्ष दाहाललाई कन्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा विद्युत्भार कटौतीमुक्त अभियान चलेपनि सुदूरपश्चिममा भने कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए ।

स्थानीय जनताको गुनासो सुनेपछि अध्यक्ष दाहालले सार्वजनिक मन्चबाटै काठमाडौं फर्केलगत्तै विद्युत्भार कटौती अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए ।

भेटमा कार्यकारी निर्देशक घिसिङले सुदूरपश्चिममा प्रसारण र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन/चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदूरपश्चिमको विद्युत्भार कटौती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस