८ असार २०८२, आइतबार | Sun Jun 22 2025


विराटनगर महानगरपालिकामा को बलियो ?


0
Shares

मुख्य दलहरुले महानगरको चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएका छन् ।

विराटनगर महानगरपालिकामा मिश्रित बसोबास रहेको र कुनैपनि दलको स्पस्ट जनाधार नभएकाले निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न दलहरु तीव्ररुपले लागिपरेका छन् ।

नेपाली कांग्रेस र राप्रपाबाहेक अरु दलहरुले चुनावी तालमेल गरेका छन् । नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमले तालमेल गरेका छन् ।

एमाले–लोकतान्त्रिक फोरमबाट मेयरमा विनोद ढकाल, उपमेयरमा सूची चौधरी र माओवादी–संघीय समाजवादी फोरम नेपाल गठबन्धनबाट मेयरमा उमेश यादव, उपमेयरमा नमिता न्यौपाने चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा महानगरमा पर्ने क्षेत्र नम्बर–५, ६ र ७ मा कांग्रेस विजयी भएको थियो । यसैलाई आधार मानेर नेपाली कांग्रेस महानगरको निर्वाचनमा एक्लै चुनावी मैदानमा उत्रिएको हो । कांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई अघि सारेको छ ।

दलका उम्मेदवारहरुले विराटनगरको विकास, प्रदेश नम्बर १ को राजधानी बनाउने र अन्तर्राष्ट्रिय विमानस्थल निर्र्माण गर्नेलगायतका एजेन्डा अघि सारेका छन् ।

विराटनगर महानगरपालिकामा अरु दलभन्दा आफ्नो स्थिति मजबुत् रहेको कांग्रेसको दाबी छ । तर, अन्तर्घातको समस्या कांग्रेसको टाउको दुखाइ भएको छ ।

नेपालको राजनीतिमा लामो इतिहास बोकेको र कोइराला परिवारको विरासतसँग गाँसिएकाले कांग्रेसलाई पुरानो विरासत जोगाउनैपर्ने चर्को दबाब छ ।

त्यसैले, कांग्रेसले चुनावी दौडाहामा प्रभावशाली नेता विमलेन्द्र निधिलाई कमान्डर तोकेको छ भने नेताहरु शेखर कोइराला, महेश आचार्य र मीनेन्द्र रिजाल एक सातादेखि विराटनगरमै केन्द्रित छन् ।

उनीहरुले चुनावीसभालाई सम्बोधनमात्र गरेका छैनन्, मतदाताको घरदैलो पनि धाइरहेका छन् ।

अरु दलहरु राजनीतिक इतिहास बोकेको विराटनगरमा कांग्रेसको विरासत भत्काएर इतिहास रच्ने दाउमा छन् । एमाले र माओवादी केन्द्र कांग्रेसको विरासत भत्काउने दाउमा छन् भने दुई मधेसकेन्द्रित दल जिल्लामा आफ्नो बलियो पकड बनाउने दाउमा छन् ।

यही रणनीतिका साथ नेकपा एमाले, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरुले विराटनगरका चुनावीसभालाई सम्बोधन गरेका छन् भने प्रभावशाली नेताहरु विराटनगरमै केन्द्रित रहेका छन् ।

विराटनगर महानगरपालिकामा राप्रपाको पनि बलियो उपस्थिति रहेको छ । विराटनगरका पूर्वमेयर प्रल्हाद शाह राप्रपाबाट मेयरका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

पार्टीको बलियो उपस्थितिको लागि राप्रपाका अध्यक्ष कमल थापा पनि विराटनगर पुगेका छन् ।

अहिले नै चुनावी परिणाम आँकलन गर्न नसकिएपनि विराटनगरमा कांग्रेस र दुई गठबन्धनबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

१ लाख १२ हजार ८ सय ३२ मतदाता रहेको विराटनगर महानगरपालिकामा मेयरमा १४ र उपमेयरमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।