८ असार २०८२, आइतबार | Sun Jun 22 2025


दुई वर्षअघि अशान्त टीकापुरमा पनि चुनावी रन्को (भिडियो रिपोर्ट)


0
Shares

मिलेर बसेका समुदायहरु एक–अर्काविरुद्ध अकल्पनीयरुपमा आक्रामक बने, सामाजिक सद्भाव नराम्ररी बिथोलियो ।

तर, अहिले स्थानीय तह निर्वाचनको चहल–पहलसँगै टीकापुर बदलिएको छ । सामाजिक सद्भाव र हार्दिकता फेरि फर्किएको छ ।

अहिले स्थानीयको घरमा भोट माग्न जाँदा वा मत माग्न आउनेलाई भेट्दा उसको जात, थर वा समुदाय हेरिन्न । थारु, पहाडी या अरु कुन समुदायको हो त्यो पनि सोधिँदैन ।

सबैका घरमा सबै उम्मेदवारहरु स्थानीय तहमा आफूललाई जिताउन आग्रह गर्दै पुग्ने गर्दछन् । पुरानो घटना लगभग टीकापुरले अब बिर्सिसकेको छ ।

यहाँका उम्मेदवारमात्र होइन, जनतालाई समेत निर्वाचनले छोपेको छ । स्थानीयहरु दुई वर्षअघि टीकापुरमा भएको घटना बिर्सिसकेको बताउँछन् । सबै दलका नेता सबै जनताको घरमा पुगिरहेका छन् र सामाजिक सद्भावकै कुरा गरिरहेका छन् ।

टीकापुर नगरपालिकामा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसँगै नेपाल लोकतान्त्रिक फोरम मुख्य प्रतिस्पर्धामा छन् । उम्मेदवारहरु सभा–सम्मेलनमाभन्दा घरदैलोमा बढी व्यस्त रहेको पाइन्छ ।

खासमा घटनालगत्तै पहाडी र थारु समुदायबीच तिक्तता निकै बढेको थियो । त्यस घटनाले थारुहरुलाई अलि हेयको दृष्टिले हेरिने गरेकोमा अहिले त्यो सबै परिवर्तन भएको बताउँछन्, थारु समुदायका स्थानीयहरु ।

त्यतिबेला जुन समूह आन्दोलनमा थियो, अहिले पनि त्यो समूह निर्वाचनको पक्षमा छैन । तरपनि टीकापुरलाई यसले प्रभावित पार्न सकेको छैन । थारु समुदायका नागरिकहरु नै अहिले निर्वाचनमा मत हाल्न आतुर छन् ।

निर्वाचन सुरक्षालाई पनि खासै त्यति ठूलो चुनौतीकोरुपमा हेर्नुपर्ने अवस्था नरहेको स्थानीय प्रशासनको भनाइ छ । यद्यपि, सीमासँग जोडिएको भूमिसमेत भएका कारण सुरक्षा सजगता अपनाइ पूर्वतयारी अवस्थामा भने राखिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।