
कतारका विदेशमन्त्री शेख मोहम्मद विनले प्रतिबन्ध हटाउन राखिएको ‘१३ बुँदे शर्त बेतुकको’ भएको भन्दै कार्यान्वयन गर्न नसकिने जनाएका छन् ।
उनले अमेरिका र ब्रिटिस विदेशमन्त्रीले मागहरु तर्कसंगत, कायान्वयन गर्न सकिने र व्यवहारिक हुनुपर्ने भनी दिएको सुझावलाई १३ बुँदे मागले पूरा नगरेको बताए ।
कतारले आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरब, इजिप्ट, युएई र बहराइनले कतारमाथि कडा प्रतिबन्ध लगाएका छन् ।
उनीहरुले कतारी सरकारको लगानी रहेको ‘अल जजिरा’ टेलिभिजन बन्द गर्नुपर्नेलगायतका माग राखेका छन् ।
पछिल्लो दुई सातायता कतार कडा कूटनीतिक र आर्थिक प्रतिबन्धको मारमा परेको छ । इरान र टर्कीले भने उसलाई खाद्यान्न र अरु सामग्री पठाइरहेका छन् ।
कतारमाथि प्रतिबन्ध लगाउने मुलुकहरुले इरानसँगको सम्बन्ध कम गर्नुपर्ने र कतारमा रहेको टर्किस सैन्य वेस बन्द गर्नुपर्ने माग पनि राखेका छन् ।
आफूमाथि लागेका आरोपलाई कतारले अस्वीकार गर्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्