८ असार २०८२, आइतबार | Sun Jun 22 2025


ताप्लेजुङमा खेती–किसानीमा व्यस्त मतदाता भोट हाल्न आतुर


0
Shares

दलबाट छनोट भएका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएसँगै चिन्ह लिएर उम्मेदवारहरु मतदाताको घरघर पुगेर भोट माग्न व्यस्त छन् ।

लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो अमूल्य मत दिएर स्थानीय नेतृत्व चुन्न मतदाता पनि आतुर छन् ।

असारको मध्यमा हुन लागेको निर्वाचनमा अधिकांश मतदाता खेती–किसानीमा नै व्यस्त हुने भएपनि मत हाल्ने दिन भने निर्वाचन केन्द्रमा नै पुग्ने सुरमा मतदाता देखिएका छन् ।

आ–आफ्नै चुनावी एजेन्डा बोकेका मुख्य दलका प्रतिस्पर्धी उम्मेदवारको यसपटकको मुख्य चुनावी एजेन्डासमेत विकास निर्माण नै देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङका सबै स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

मुख्य प्रतिस्पर्धाको स्थलकारुपमा हेरिएको फुङलिङ नगरपालिकाको मेयरका लागि कांग्रेस–माओवादी केन्द्र गठबन्ध र एमालेकै मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

फुङलिङमा कांग्रेस–माओवादी गठबन्धनबाट मेयरमा कांग्रेसका केशवप्रसाद दाहाललाई उठाइएको छ भने एमालेबाट छत्रपति प्याकुरेललाई उम्मेदवार बनाइएको छ ।

दुई स्वतन्त्र र लिम्बूवान मञ्चबाटसमेत यहाँ मेयरमा उम्मेदवार उठे पनि मुख्य दलबीच नै प्रतिस्पर्धाको स्थिति देखिएको छ ।

दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ३२३ पदमा लागि १ हजार २४ जनाको उम्मेदवारी परेको छ ।

एक नगरपालिकासहित ताप्लेजुङका ९ ओटा स्थानीय तहको ९ प्रमुख पदमा ३७ तथा उपप्रमुख पदमा ३६ जनाको उम्मेदवारी परेको छ भने ६१ वडाध्यक्षका लागि २१० जनाले उम्मेदवारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा ताप्लेजुङबाट ७० हजारभन्दा बढी मतदाताले मतदान गर्न पाउने भएका छन् ।

ताप्लेजुङमा मतदाताको संख्या ७० हजार ७ सय ७८ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ताप्लेजुङमा निर्वाचनका लागि ७३ ओटा मतदानस्थल कायम गरिएको छ ।