कन्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा शनिबार चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २० वर्षसम्म स्थानीय तहको निर्वाचन हुन प्रमुख दलले रोकेको आरोपसमेत लगाए ।
‘यति लामो समयसम्म चुनाव के राजाले रोकेको थियो र ?’ उनले प्रश्न गर्दै भने–‘तपाइँहरु यो प्रश्न गरेर मत प्रयोग गर्नोस् ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीले समृद्ध र विकसित मुलुक बनाउन चाहेको बताउँदै थापाले आफ्नो पार्टीको राष्ट्रिय राजनीतिमा फरक पहिचान रहेको दाबी गरे ।
‘गाउँको विकासलाई पनि राप्रपाले उच्च प्राथमिकतामा राखेको छ’–थापाले भने–‘हाम्रो पार्टी नै अबको उपयुक्त विकल्प हो ।’
राप्रपाले निर्वाचन जितेको नगर तथा गाउँपालिकामा सबै धर्मप्रति समान व्यवहार गर्नुका साथै लोभ–लालचमा धर्म परिवर्तन गराउने कार्य निस्तेज पार्ने जानकारी दिए ।
राप्रपाले निर्वाचन जितेको नगर र गाउँपालिकाको विकासका लागि विभिन्न योजनासहित प्रतिबद्धतापत्रसमेत मतदातामा पुर्याएको उनको भनाइ थियो ।
‘निर्वाचनमा हारजित दुबै हुन्छ’–कार्यकर्तामाझ थापाले भने–‘हारे पनि शिर निहुराउनुपर्ने अवस्था छैन ।’ रासस





प्रतिक्रिया दिनुहोस्