८ असार २०८२, आइतबार | Sun Jun 22 2025


खोटाङमा निर्वाचनको तयारी पुरा, मतदान केन्द्रमा कर्मचारी खटिए


0
Shares

-युवराज रोइला/ईमेज

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित सबै कर्मचारी पुगिसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालय खोटाङले १४ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।

राजनीतिक दल, उम्मेदवार, मतदातालगायत सबैको राम्रो सहयोग पाएपछि कार्यालयले खोटाङको सबै तयारी पूरा गरेको जनाएको हो ।

जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले प्रशासनिक र सुरक्षा निकायबाट रातदिन लगाएर चुनावको तयारी पूरा गरेको बताए ।

जिल्ला निर्वाचन कार्यालयले १ सय ३६ मतदान स्थलमा कुल १ सय ७३ मतदान केन्द्र तोकेको थियो । ती सबै स्थानमा निर्वाचन सामग्रीसमेत पठाइसकिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक किरण गुरुङले निर्वाचनका लागि ७ सय ५० जना प्रहरी र ७ सय १५ जना म्यादी प्रहरी परिचालन गरिएको जानकारी दिए ।

खोटाङका कूल १० स्थानीय तहका लागि १७३ मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका १ लाख १५ हजार ६ सय ४४ मतदाताबाट ४ सय १५ जनप्रतिनिधि चयन हुने छन् ।

त्यसका लागि १८ जना स्वतन्त्रसहित १ हजार ५ सय ६२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।