
सोमबार बिहान ११ः०५ बजे एसीआर ४०० एफ मोडेलको रेल सांघाईको लागि छुटेको छ भने सोही समयमै सांघाईबाट सीआर ४०० बिएफ मोडेलको अर्काे रेल बेइजिङका लागि छुटेको चिनियाँ समाचार समिति ‘सिन्ह्वा’ले जनाएको छ ।
चीनको यो द्रुतगतिको रेलले सोमबार पहिलोपटक बेइजिङबाट सेवाको प्रारम्भ गरेको हो । चीनको नयाँ पुस्ताको यो रेलसेवाको नाम ‘फक्सिङ’ दिइएको छ ।
चिनियाँ सन्चारमाध्यमले सोमबार फक्सिङले सेवा सुरु गरेको समाचार दिएका छन् ।
यो रेलको गति प्रतिघन्टा बढीमा ४०० किलोमिटर र नियमित वा औषत गति ३५० किलोमिटर रहेको छ । यो नै विश्वकै अहिलेसम्मकै सबैभन्दा द्रुतगतिको रेलसेवा हो ।
यो रेलमा स्वचालित गति नियन्त्रणको व्यवस्था मिलाइएको छ । स्वचालितरुपमा यसले गति निर्धारण गर्ने, दुर्घटना हुनसक्ने वा आकस्मिक अवस्था आयो भने यसले आफैं नै गति सीमित गर्ने प्राविधिक व्यवस्था यसमा रहेको छ ।
चाइना रेलवे कर्पाेरेसनका सन्चालक लु दोङफूले यस रेलसेवाको सुरुआतले चीनको आर्थिक र सामाजिक विकासमा ठूलो भूमिका निर्वाह गर्नसक्ने धारणा राखे ।
चीनमा रेलसेवा यहाँको यातायात सेवाका लागि एक अत्यावश्यक र भरपर्दाे रेलसेवाकारुपमा लिइन्छ । चीनमा संसारकै सबैभन्दा लामो रेल यातायातको सञ्जाल रहेको छ ।
सन् २०१६ को अन्त्यसम्ममा चीनभित्र करिब २२ हजार किलोमिटर लामो रेल यातायात सेवा रहेको छ । यो संसारकै रेल सेवाको करिब ६० प्रतिशत हो । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्