८ असार २०८२, आइतबार | Mon Jun 23 2025


तीन दिनभित्र जिल्ला समन्वय समिति सदस्य संख्या निर्धारण गर्न निर्देशन


0
Shares

आयोगले जिल्लासभाको पहिलो बैठकबाट जिससमा रहने सदस्य संख्या निर्धारण गरी त्यसको जानकारी आयोगमा पठाउन सम्बन्धित जिल्लाका स्थानीय विकास अधिकारीलाई निर्देशन दिने गरी आदेश जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको बैठकले निर्वाचन आयोग ऐन, २०७३ बमोजिम त्यस्तो आदेश जारी गर्ने र जारी गरिएको आदेश नेपाल राजपत्रमा अतिरिक्तांक गरी प्रकाशन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

प्रचलित संघीय कानुनमा जिल्लासभाको बैठक कसले बोलाउने भन्ने किटानी व्यवस्था नभएकाले जिल्लासभाको बैठक बसी संख्या निर्धारण नभएसम्म जिल्ला समन्वय समितिको निर्वाचनसम्बन्धी कारबाही अगाडि बढाउन नसकिने देखिएपछि आयोगले त्यस्तो आदेश जारी गर्ने निर्णय गरेको बताइएको छ ।

नेपालको संविधानको धारा २२० को उपधारा (३) मा जिल्लासभाले बढीमा ९ सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था रहेको र सो प्रयोजनका लागि जिल्लासभाको बैठक बसी सदस्य संख्या निर्धारण गर्नुपर्ने प्रावधान छ ।

साथै, सोही धाराको उपधारा (२) बमोजिम गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्लासभाको बैठक बस्ने व्यवस्था छ । रासस