८ असार २०८२, आइतबार | Mon Jun 23 2025


धनकुटामा निर्वाचनको तयारी पुरा, सुरक्षा व्यवस्था कडा


0
Shares

स्थानीय प्रशासनले पनि सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाले बुधबार हुने मतदानका सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । जिल्लाका तीन नगरपालिका र चार गाँउपालिकामा गरी ११७ मतदान स्थल र १४३ मतदान केन्द्रको व्यवस्थासहित आवश्यक सबै सामग्री पुर्‍याइएको छ ।

त्यस्तै मतदानका लागि आवश्यक कर्मचारी परिचालन गरी, बुथ निर्माण, परिचयपत्र वितरणलगायतको काम भइरहेको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी केशव पौडेलले आवश्यक सबै काम सकिएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आग्रह गरे ।

निर्वाचनलाई भयरहीत बनाउन आवश्यक सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । सबै मतदानस्थलको सुरक्षाका लागि तीन घेराको सुरक्षा व्यवस्था गरिएको छ ।

त्यसका लागि जनपथ, म्यादी, सशस्त्र प्रहरी र नेपाली सेना गरी करिब दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश अधिकारीले जिल्लाका सीमा नाकामा समेत सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

वर्षात्को समयमा हुनलागेको निर्वाचनलाई असर पर्न सक्ने भन्दै दुई मतदान स्थलबाहेक सम्पूर्ण स्थल विद्यालय र सामुदायिक भवनभित्र राखिएको छ । बाँकी दुई स्थानका मतदान स्थलमा पनि त्रिपालको व्यवस्था गरिएको छ । धनकुटामा मुख्य निर्बाचन अधिकृत किशोर घिमिरेले सामान्य पानी पर्दासमेत निर्वाचनमा कुनै असर नपर्ने बताए ।

सात स्थानीय तह रहेको धनकुटामा ९५ हजार ३ सय ६७ मतदाता छन् । कूल ३ सय १४ प्रतिनिधि चयन हुने धनकुटामा १७ दलका १ हजार १ सय ८९ जनाको उम्मेदवारी परेको छ ।