
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यही असार १४ गते प्रदेश नम्बर–१, ५ र ७ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुनेक्रममा काठमाडौंबाट ती प्रदेशमा जाने यात्रीको चाप बढेको जनाएको छ ।
निर्वाचन हुन लागेका विभिन्न प्रदेशबाट काठमाडौंमा आएर अध्ययन, जागिर तथा व्यवसाय गर्न बसेका अधिकांश मतदाता सम्बन्धित जिल्लामा जानेक्रम असार महिना लागेपछि नै सुरु भएको हो ।
महासंघका महासचिव सरोज सिटौलाले मतदाताकारुपमा गृहजिल्ला जान चाहने यात्रीको चापअनुसार सवारी–साधनको व्यवस्थापन गरिएको जानकारी दिए ।
उनले यात्रीको चाप बढेपछि बाहिर जान पालो कुरेर बसेका गाडीलाई खुकुलो गरिएको र असार १ गतेदेखि अहिलेसम्म सामान्य दिनमाभन्दा अतिरिक्त ६ लाख यात्री बाहिरिएको जानकारी दिए ।
लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि काठमाडौंबाहिर जाने कलंकी, बल्खु, कोटेश्वरलगायत नाकामा यात्रीको भीड देख्न सकिन्छ ।
मंगलबारै (आज) साँझसम्म पुग्नुपर्ने भएकाले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य दिनमाभन्दा अहिले बाहिर जाने यात्रीको भीड छ ।
दोस्रो चरणमा ३३३ स्थानीय तहमा हुन लागेको निर्वाचनका केही क्षेत्र तथा स्थानका उम्मेदवारले काठमाडौंका आफ्ना मतदाताको सुविधालाई दृष्टिगत गरी गाडी नै ‘रिजर्भ’ गरेको पनि पाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्