२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


कांग्रेसको अवरोधका बीच दुवै सदनको बैठक बस्दै


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाको बैठक अपरान्ह ३ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै छ । प्रतिनिधिसभामा प्रहरी ऐनसम्बन्धी विधेयक टेबुल गर्ने तयारी छ ।

प्रहरीको संगठनलाई संघीय संरचना अनुसारको बनाउन सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक प्रतिनिधिसभाको बैठकमा टेबुल गर्ने तयारी गरेको हो ।

गत विहीबार नै सो विधेयक संसद्मा टेवल गर्ने कार्यसूची तय भए पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधका कारण बैठक स्थगित भएपछि सो दिनको कार्यसूची आजलाई सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

यस्तै विशेष आर्थिक क्षेत्र पहिलो संसोधन विधेयक र भूउपयोग विधेयक पनि आजै टेबल गर्ने सरकारको तयारी छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक दफावार छलफलका लागि समितिमा पठाउने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्वन्धित विषयमा प्रश्नोत्तरको कार्यसूची पनि राखिएको छ ।

यस्तै दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सरकारले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग दोस्रो संसोधन विधेयक टेवल गर्ने कार्यसूची तय भएको छ ।

यस्तै जेष्ठ नागरिकसम्बन्धी पहिलो संसोधन विधेयक र विज्ञापन नियमन गर्ने विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

प्रतिनिधि सभाबाट सन्देश सहित आएका निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फस्र्यौट विधेयक र नागरिक लगानी कोष दोस्रो संसोधन विधेयकमाथि पनि सैद्धान्तिक छलफल गर्ने कार्यसूची सचिवालयले तय गरेको छ ।

यसैबीच प्रतिनिधिसभाको आजको बैठक सञ्चालनको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकले प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची हेरेर निर्णय गर्ने बताइएको छ ।