Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मतदान, बाजुरामा सबैभन्दा बढी : निर्वाचन आयोग


0
Shares

समग्रमा ७०.५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगले गरेको छ ।

केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान सम्पन्न भएको पनि आयोगले जनाएको छ ।

सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदान भएको छ भने पूर्वी पहाडको पहाडी जिल्ला भोजपुरमा सबैभन्दा कम ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मतगणना प्रक्रियालाई छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइनेसमेत बुधबार साँझ पत्रकार सम्मेलन गरी जनाएको छ ।

मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

मतदान सम्पन्न भएका केन्द्रहरुबाट मतपेटिका मतगणना स्थलतर्फ लैजानेक्रम पनि सुरु भइसकेको छ ।

अधिकांश स्थानमा मतपेटिका संकलनका लागि समय लाग्ने भएकाले बिहीबारदेखि मतगणना हुने बुझिएको छ । केही स्थानमा भने बुधबारै रातिदेखि मतगणना गरिने भएको छ ।

प्रदेश नम्बर–१, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार मतदान भएको हो । जसअन्तर्गत् १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा मतदान भएको हो ।

६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ जना चुनावी प्रतिस्पर्धामा छन् ।