Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


१४ औं राष्ट्रिय धान दिवस मनाइँदै


0
Shares

रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

२०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

विश्वको जनसंख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा २९ दशमलव ४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६० दशमलव ४ प्रतिशत जनसंख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने ५० दशमलव २ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।

तस्वीर सौजन्य : सुनिल शर्मा