२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


रुससँगको आईएनएफ सन्धि तोडेको अमेरिकाको घोषणा


0
Shares

काठमाडौं । अमेरिकाले रुससँग भएको इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्स (आईएनएफ) सन्धि तोडेको घोषणा गरेको छ ।

सन् १९८७ मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोभाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले सन्धिमा हस्ताक्षर गरेका थिए ।

आईएनएफले जमिनबाट मार हान्ने मध्यम दूरीको मिसाइलको परीक्षण र परिचालनलाई रोक्छ ।

शीत युद्धका क्रममा भएको परमाणु हतियारसँग सम्बन्धित यो सन्धि तोडिनुलाई परमाणु निसस्त्रीकरणमा ठूलो झट्का मानिएको छ ।

लामो समयदेखि रुसलाई धम्काउँदै आएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्त्यमा कडा रवैया देखाउँदै आईएनएफ सन्धि स्थगित गरिदिएको बीबीसीले जनाएको छ ।

रुसले वर्षौंसम्म यो सन्धिको उल्लंघन गरेर अमेरिका र यूरोपको सुुरक्षालाई संकटमा पारेको अमेरिकाको आरोप छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरुले सन्धिको पालना गरिरहे पनि अर्को पक्षले पालना नगरेकाले सन्धि स्थगित गरिएको बताए ।

उनले जबसम्म दोस्रो पक्षले सन्धिको पालना गर्दैन तबसम्म आफूहरुले पनि नगर्ने स्पष्ट पारे । उनले अब सबै पक्षले पालना गर्ने खालको सन्धि आवश्यक रहेकोमा जोड दिएका छन् ।

अमेरिकाले सन्धि तोडेको निर्णयमा नेटोले पनि समर्थन गरेको छ ।

रुसले भने अमेरिकाको निर्णयको निन्दा गरेको छ । रुसी विदेश मन्त्रालयले अमेरिकाको यो निर्णयलाई अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताको हनन् भनेको छ ।

उसले अमेरिकाले रुसलाई लगाएको आरोप आधारहीन भनेर टिप्पणीसमेत गरेको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले अमेरिकाले कुनै प्रमाण विना रुसलाई आरोप मात्र लगाएको बताए । (एजेन्सी)