१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


डोटीमा एमालेको वर्चश्वः पाँचमा एमाले, तीनमा कांग्रेस र एकमा माओवादी विजयी


0
Shares

अन्तिम मतपरिणामअनुसार एमालेले चारओटा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, एक नगरपालिकामा प्रमुख/उपप्रमुख र एक गाउँपालिकाको उपाध्यक्षमा जित हासिल गरेको छ ।

जिल्लामा ९ ओटा स्थानीय तह छन् । कांग्रेसले जिल्लाका दुईओटा गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र एक नगरपालिकामा प्रमुख/उपप्रमुख जितेको छ ।

एक गाउँपालिकामा नेकपा माओवादी केन्द्रले कब्जा जमाएको छ ।

अन्तिम नतिजाअनुसार दिपायल–सिलगढी नगरपालिका, जोरायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।

दिपायल–सिलगढी नगरपालिकाको प्रमुखमा एमालेकी मञ्जु मलासीले चार हजार ४१८ मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका बाजीसिंह खड्काले चार हजार १५२ मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकै शिवराज खड्काले चार हजार ५३६ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी प्रसिस महराले चार हजार ९३ मत प्राप्त गरिन् ।

पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा एमालेकै दीर्घबहादुर बोगटीले कांग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायलाई झिनो मतले पछि पार्दै जित निकाले । बोगटीले तीन हजार ६१५ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसमा उपाध्यायले तीन हजार ५६८ मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेकै निर्मला साउद विजयी भइन् । साउद तीन हजार ५८७ मतका साथ विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी माया कुँवरले तीन हजार ५२८ मत प्राप्त गरिन् ।

उता, सायल गाउँपालिकाको अध्यक्षमा एमालेकै तेजबहादुर डुम्रेलले २ हजार ६३१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धर्मराज जोशीले २ हजार ३१२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै बिष्नादेवी सिंह विजयी भइन् । उनले दुई हजार ७२४ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी पूर्णमाया थापा विष्टले दुई हजार २५८ मत प्राप्त गरिन् ।

यस्तै, आदर्श गाउँपालिकाको अध्यक्षमा एमालेकै टेकबहादुर रोकाया ३ हजार ५३५ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मण सिंहले २ हजार ७०६ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार कमला ओझा विजयी भइन् । उनले तीन हजार ५३७ मत प्राप्त गरिन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी कृष्णा ओझाले २ हजार ६४२ मत पाएकी छन् ।

उता, जोरायल गाउँपालिकाको अध्यक्षमा एमालेकै दुर्गा ओझा ३ हजार ८७४ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका दीपकबहादुर बिष्टले ३ हजार २२८ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि एमालेकै जमुना बोहराले ३ हजार ९५९ मत ल्याउँदै जित निकाल्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी भावना बम ओझाले ३ हजार ४६ मत प्राप्त गरिन् ।

कांग्रेसले शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र बडिकेदार गाउँपालिकामा जित हासिल गरेको छ ।

जसमध्ये शिखर नगरपालिकाको प्रमुखमा कांग्रेसका सिताराम जोशी ५ हजार ४४८ मत ल्याउँदै विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शेरबहादुर मल्लले ४ हजार ४७७ मत प्राप्त गरे ।

उपप्रमुखमा पनि कांग्रेसकै धौलीदेवी रावलले ५ हजार ३९३ मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी राधिका बोहराले ४ हजार ४७१ मत प्राप्त गरिन् ।

यस्तै, बडिकेदार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कृष्णबहादुर चन्दले दुई हजार ३२१ मत प्राप्त गरी विजयी हासिल गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका भक्तबहादुर साउदले दुई हजार ८ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि कांग्रेसकै इन्द्रादेवी भाट बोहराले दुई हजार २२५ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी भुवन बम मल्लले दुई हजार २८ मत प्राप्त गरिन् ।

केआइसिंह गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोकेन्द्रबहादुर शाहीले निकटतम् प्रतिद्वन्द्वी एमालेका यज्ञराज जोशीभन्दा दोब्बर अर्थात् ३ हजार १८८ मत प्राप्त गरी विजयी भए । जोशीले १ हजार ५६३ मतमात्रै प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै मीना बिष्टले पनि निकटतम् प्रतिद्वन्द्वीभन्दा झन्डै दोब्बर अर्थात् ३ हजार १७५ मत ल्याएकी छन् । उनलाई पछ्याएकी एमालेकी निर्मला जोशीले एक हजार ६१९ मत प्राप्त गरिन् ।

उता, बोगटान गाउँपालिकाको अध्यक्षमा भने नेकपा माओवादी केन्द्रका उम्मेदबार कमलबहादुर गड्सिला (एनान)ले जित हासिल गरे । उनले २ हजार ८९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका टेकबहादुर बमले एक हजार ८०८ मत ल्याए ।

सो गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी भगवती बम विजयी भएकी छन् । उनले एक हजार ८९४ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी चन्द्रादेवी भूलले एक हजार ८६८ मत ल्याइन् ।

वडाध्यक्ष भने कांग्रेसले बढी जितेको छ । कांग्रेसले ३२ ओटा वडामा जित हासिल गर्दा एमालेले २९ ओटा वडा जितेको छ । चारओटामा माओवादी केन्द्र विजयी भएको छ ।