१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


रुपन्देहीको कञ्चन गाउँपालिकामा एमाले विजयी


0
Shares

रुपन्देहीका १६ स्थानीय तहमध्ये कञ्चन गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । कञ्चन गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष तथा उपाध्यक्ष दुबैमा जितेको छ ।

पाँचओटा वडा रहेको गाउँपालिकामा एमालेका गोकर्णबहादुर क्षत्री ६ हजार ७७७ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा एमालेकी गोमा पराजुलीले ६ हजार ९२४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिइन् ।

उनीहरु नेपाली कांग्रेसका डोलबहादुर थापा र तीर्थीकुमारी थरुनीलाई पछाडि पार्दै विजयी भएका हुन् । थापाले पाँच हजार ९६७ र थरुनीले पाँच हजार ५२९ मत ल्याएका छन् ।

२१ हजार ५४३ मतदाता रहेको गाउँपालिकामा १६ हजार ७४ मत खसेको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिइन् ।

गाउँपालिकामा बदर मत भने निकै न्यून रहेको बताइएको छ । रासस