
गत वैशाखमा काष्ठमन्डप पुनःनिर्माणको जिम्मा समुदायलाई दिइएको थियो । सम्झौतासमेत भइसकेको कार्यमा अहिले महानगरपालिका आफैंले बनाउने भन्दै काम रोकेको हो ।
वर्षाबाट जोगाउन टाँगिएको पालसमेत महानगरपालिकाले हटाइदिँदा काष्ठमन्डपको इतिहास नै खतरामा परेको हो ।
१२औं शताब्दीदेखिको इतिहास बोकेको काष्ठमन्डपको अस्तित्व खतरामा परेको हो । वर्षायाम सुरु भएसँगै काष्ठमन्डपको इतिहास जोगाउन भन्दै काष्ठमन्डप पुनःनिर्माण अभियानले पाल टाँगेको थियो ।
तर, त्यो काठमाडौं महानगरपालिकाले हटाइदिँदा वर्षाले काष्ठमन्डपको जग बिगार्ने खतरा बढेको हो ।
गत साल बेलायतको दुराहम विश्वविद्यालय र पुरातत्व विभागले संयुक्तरुपमा उत्खनन् गरेको जग वर्षाबाट जोगाउन पाल राखिएको थियो ।
सुरुका दिनमा काठमाडौं महानगरपालिकाले पुनःनिर्माण गर्ने भनिएको काष्ठमन्डप दुई वर्षसम्म पनि कुनै काम नभएपछि जनता आफैं पुनःनिर्माणमा जुटेका थिए ।
पुरातत्व विभाग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौं महानगरपालिका र काष्ठमन्डप पुनःनिर्माण अभियानबीच सम्झौता भइ निर्माणको जिम्मा दिइएको थियो ।
अहिले आएर महानगरपालिकाले सबै प्रक्रियालाई उल्लंघन गर्दै काम रोकेको काष्ठमन्डप पुनःनिर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठ बताउँछन् ।
भूकम्प गएको दुई वर्षसम्म पनि महानगरपालिकाले केही नगरेपछि गत वैशाख १२ गते जनता आफैंले काष्ठमन्डप बनाउने भन्दै अभियान थालिएको थियो ।
ठेक्कामा पुनःनिर्माण गर्दा काष्ठमन्डको अस्तित्व खतरामा पर्ने देखिएकाले जनसहभागितामा बनाउन अभियान सुरु गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
पुरातत्व विभागका प्रवक्ता रामकुमार कुँवर पनि पुरातत्व विभागको निगरानीमा जनसहभागितामा पुनःनिर्माण गरिनेमा सबैबीच सम्झौता भएको बताउँछन् ।
नयाँ समस्याबारे अब काष्ठमन्डप पुनःनिर्माण अभियान र काठमाडौं महानगरपालिकासँग छलफल गर्ने पुरातत्व विभागको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्