
काठमाडौं, असार १९ । छोरा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीलाई कारबाहीको माग राख्दै आमरण अनशनरत् गंगामायाको स्वास्थ्य अवस्था बुझ्न मंगलबार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल वीर अस्पताल पुगेका छन् ।
महिना दिनभन्दा लामो समयदेखि आमरण अनशनमा रहेकी अधिकारीको स्वास्थ्य अवस्था निकै जटिल बनेको छ ।
छोराको हत्यामा संलग्न भएको व्यक्तिलाई पक्रेर कारबाही थाल्न सर्वोच्च अदालतलसमेतले आदेश दिइसकेका सन्दर्भमा सर्वोच्चको आदेश कार्यान्वयन गर्न माग गर्दै उनी अनशनमा छिन् ।
तर, वर्षौंसम्म वीर अस्पतालमा रहँदा पनि उनको माग कुनै सरकारले पनि पूरा गरेको छैन ।
नेपाली कांग्रेस, तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादीका अलग–अलग सरकार बन्दा पनि गंगामायाको माग कसैले पनि पूरा गरेनन् ।
अधिकारीको स्वास्थ्यमा जुनसुकै अवस्थामा तलवितल पर्नसक्ने अवस्था हुँदा पनि वर्तमान प्रधानमन्त्री केपी ओलीदेखि राज्यका सबै निकाय मौन छन् ।
प्रतिपक्षमा पुगेको कांग्रेसका नेता भने केही दिनदेखि गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगिरहेका छन् ।
यसैक्रममा वीर अस्पताल पुगेका नेता पौडेलले अधिकारीको हत्या द्वन्द्वका कारण नभइ व्यक्तिगत रिसइबीबाट गरिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरे ।
मानवअधिकारको रक्षाका लागि सरकार संवेदनशील नभएको उनको भनाइ थियो ।
पटक–पटक सरकारको नेतृत्वमा रहँदा अधिकारीको माग कार्यान्वयन नगरेको कांग्रेसका नेता पौडेलले आफ्नो पार्टी यसबारेमा संवेदनशील रहेको भन्न नछुटाउँदै हत्यारालाई कुनैपनि हालतमा नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि, कांग्रेस नेता अर्जुननरसिंह केसी र डा. शेखर कोइराला पनि अस्पताल पुगेर गंगामायाको स्वास्थ्य अवस्था बुझेका थिए ।
प्रतिक्रिया दिनुहोस्