काठमाडौं, माघ १८ । युएईविरुद्धको दोस्रो ट्वेन्टी–२० क्रिकेटमा नेपालले कसिलो बलिङ गरेको छ ।
दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा जारी खेलमा नेपालले विजयका लागि १०८ रनको झिनो चुनौती पाएको छ ।
पहिलो खेलको तुलनामा निकै सशक्त बलिङ प्रदर्शन गरेको नेपालले शुक्रबार युएईलाई १९ ओभर २ बलमात्र क्रिजमा राख्दै १०७ रनमा रोक्यो ।
सीपी रिज्वानले सर्वाधिक ४४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा अविनाश बोहराले ३ विकेट लिए । अविनाशले २० रन खर्चेर ३ विकेट लिएका हुन् ।
यस्तै, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए । एक खेलाडी ‘रनआउट’ भएका थिए ।
शृंखला जोगाउन नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । तीन खेलको शृंखलामा नेपालले पहिलो खेलमा २१ रनको हार व्यहोरेको थियो ।
नेपालले अहिलेसम्म टी–२० क्रिकेट शृंखला जित्न सकेको छैन । यसअघि, हङकङ र नेदरल्यान्ड्सविरुद्धको शृंखला गुमाएको नेपाललाई यसपटक एकदिवसीय क्रिकेटमा जस्तै टी–२० क्रिकेटमा पनि इतिहास रच्ने अवसर रहेको छ ।
पहिलो खेल हारेर पनि एकदिवसीय क्रिकेट शृंखला जितेको नेपालले ट्वेन्टी–२० शृंखलमा पनि त्यस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
शृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।








प्रतिक्रिया दिनुहोस्