Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


भारतलाई चिनियाँ राजदूतले सोधे– युद्ध चाहिएको हो कि शान्ति ?


0
Shares

तीन सातादेखि दुई मुलुकबीच सीमा क्षेत्रमा उत्पन्न तनाव अझै कम हुन नसकेको भन्दै चिनियाँ राजदूत झाओहुईले भने, ‘बल भारतको कोर्टमा छ, कुन विकल्प अनुसार भारत अघि बढ्छ, चीन त्यही विकल्पमा जवाफ दिन तयार छ ।’

नयाँ दिल्लीमा आयोजित साक्षात्कारमा राजदूत झाओहुईलाई चिनियाँ मिडिया र थिंकट्यांकहरुले युद्धको सम्भावनामा जोड दिइरहेको सम्बन्धमा पत्रकारहरुले प्रश्न गरेका थिए । जवाफमा भारतीय पत्रकारलाई उनले भने, ‘हामीसँग विभिन्न विकल्प छन्, तर तपाईको सरकार कुन विकल्पमा जान्छ, त्यसमा हाम्रो नीति भर पर्छ ।’

उनले चीन शान्तिपूर्ण समाधानको पक्षमा रहे पनि भारतले युद्ध नै चाहेको अवस्थामा पछि नहट्ने चेतावनी दिए । उनले भने, ‘शान्तिपूर्ण समाधानका लागि वार्ता नै एउटा माध्यम हो तर त्यसका लागि सीमा क्षेत्रबाट भारतले आफ्ना सेनालाई तत्काल फिर्ता बोलाउनु पर्छ, यो हाम्रो मूख्य शर्त हो ।’ चीन र भारतबीच कुनै पनि प्रकारको वार्ताका लागि यो मूख्य शर्त भएको उनले प्रष्ट पारे ।

चीन, भारत र भुटानको त्रिकोणात्मक सीमा क्षेत्रमा तीन सातादेखि विवाद रहेको छ । चीनले सो क्षेत्रमा भुटानसँग केही विवाद रहे पनि भारतले चासो देखाउनुपर्ने कुनै कारण नरहेको प्रष्ट पारेको छ । चिनियाँ राजदूतले भने, ‘तथाकथित सुरक्षा चिन्तालाई लिएर भारतले अर्काको सीमा क्षेत्रमा प्रवेश गर्न मिल्दैन । आफ्नो भूमिमा कसले कस्तो गतिविधि चलाइरहेको छ भन्नेकुरा उसका लागि मतलवको विषय हुनु हुँदैन । यो कुनै पनि सम्प्रभु मुलुकका लागि स्वीकार्य हुन सक्दैन ।’

उनले भारतलाई अर्ती दिदैं भने, ‘आफ्नो सुरक्षा चिन्ताको नाममा अर्को मुलुकको सीमा अतिक्रमण गर्नु हुँदैन ।’ (एजेन्सी)