
भेनेजुएला, माघ १८ । आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका भेनेजुएलाका विपक्षी नेता गुवान गुइडोले आफ्नो परिवारमाथि धम्की आएको बताएका छन् ।
भेनेजुएलाको सेन्ट्रल युनिभर्सिटीमा गरेको सम्बोधनका क्रममा नेता गुइडोले आफ्नो परिवारमाथि सुरक्षा खतरा बढेको बताए । उनले प्रहरीले आफ्नी श्रीमतीको खोजी गर्दै घरमा खानतलासी गरेको बताए ।
सरकारविरुद्ध प्रदर्शन जारी रहेका बेला गुइडोले गत जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकासहितका देशले समर्थन गरेका छन् ।
भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलस मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुइडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।
दक्षिण अमेरिकामा ब्राजिल, कोलम्बिया, पेरुसहितका देशले गुइडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् र उनको पक्षमा उभिएका छन् । तर रुस र चीनले वर्तमान राष्ट्रपति निकोलस मादुरोलाई साथ दिएका छन् ।
देशको सेनाको साथ रहेकाले मादुरो सत्तामा बसिरहेका छन् । तर विपक्षी नेता गुइडोले भने सेनाका अधिकारीसँग आफ्नो गोप्य भेट भएको र समर्थनका लागि प्रयास भइरहेको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्