
मतपरिणामअनुसार बर्दियामा माओवादी केन्द्र पहिलो, नेकपा एमाले दोस्रो र नेपाली कांग्रेसले तेस्रो स्थान हासिल गरेका छन् ।
८ ओटा स्थानीय तह रहेको बर्दियाका सबै तह जित्ने दाबी गर्दै आएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सोचजस्तो नतिजा हात पार्न सकेनन् ।
यद्यपि, तीनओटा स्थानीय तह जितेर माओवादी बर्दियाको सबैभन्दा ठूलो शक्तिकोरुपमा स्थापित भएको छ ।
माओवादीले मधुवन, राजापुर र बाह्रबर्दिया नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा विजय हासिल गरेको छ भने ठाकुरबाबा नगरपालिकामा उपप्रमुख पदमा जित हासिल गरेको छ ।
एमालेले तीनओटा स्थानीय तहको प्रमुख जितेको छ । एमालेले बाँसगढी नगरपालिकामा प्रमुख तथा उपप्रमुख, ठाकुरबाबा नगरपालिकाको प्रमुख र बढैयाताल गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष पदमा जित दर्ता गरेको हो ।
एमाले र माओवादीले आफ्नो गढ मान्दै आएको बर्दियामा नेपाली कांग्रेसले सदरमुकाम गुलरिया नगरपालिकाको प्रमुख तथा उपप्रमुख र गेरुवा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ ।
बर्दियाको गुलरिया नगरपालिकामा कांग्रेसका मुक्तिनाथ यादव विजयी भएसँगै बर्दियाले पहिलो मधेसी समुदायको प्रमुख पनि पाएको छ ।
जातीय विविधता भएको जिल्ला बर्दियामा एक मधेसी, २ थारु र ५ जना पहाडीमूलका व्यक्ति स्थानीय तहको प्रमुख भएका छन् ।
प्रतिक्रिया दिनुहोस्