१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


सिद्धार्थनगर नगरपालिकामा एमालेको जित


0
Shares

२०५४ सालयता कुनै पनि निर्वाचनमा विजय हासिल गर्न नसकेको एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको छ । एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झन्डा गाड्न सफल भएको छ ।

एमालेले सिद्धार्थनगर नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ६ वटा वडामा विजय हासिल गरेको छ । सिद्धार्थनगरको प्रमुखमा एमालेका हरिप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनी ६ हजार ७०५ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकाका मातृकाप्रसाद यादवले पाँच हजार २५० मत प्राप्त गरे ।

त्यस्तै, उपप्रमुखमा पनि एमालेकी उमा काफ्ले निर्वाचित भएकी छन् । उनले ६ हजार १७२ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकाकी माधवी शर्मा वाग्लेले पाँच हजार २२४ मत प्राप्त गरिन् ।

यसैगरी, राप्रपाको प्रमुखका उम्मेदवार सागरप्रताप राणाले चार हजार ६३७ र उपप्रमुख उम्मेदवार रमिता थापामगर केसीले तीन हजार ५१७ मत प्राप्त गरिन् ।

माओवादीका फैज अहमद खाँले तीन हजार ४०७ र उपप्रमुखमा कमला थापाले तीन हजार १२९ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुख र उपप्रमुखसहित नगरका वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ ।

त्यस्तै, नेका वडा नम्बर १, ६, ७, ८, १० र १२ मा विजयी भएको छ भने वडा नं ४ मा सङ्घीय समाजवादी फोरम नेपालले जितेको छ । १ नं वडाअध्यक्षमा नेकाका रमेश मल्ल, २ मा एमालेका दीपककुमार थापा, ३ मा एमालेका थानेश्वर पौडेल, ४ मा सङ्घीय समाजवादी फोरम नेपालका मुक्तिनाथ यादव ‘भोला’, ५ नं मा एमालेका चेतबहादुर क्षेत्री, ६ नं मा नेकाका विनोद श्रीवास्तव, ७ नं मा नेकाकै भीमसेन कर्माचार्य विजयी भएका छन् ।

त्यस्तै, वडा नम्बर ८ को वडाध्यक्षमा नेकाका राजनजङ्ग राणा, ९ नं मा एमालेका शेषकान्त भण्डारी, १० मा नेकाका विजयनाथ धोवी, ११ मा एमालेका दिलीप यादव, १२ मा नेकाका करुन्जन श्रेष्ठ र १३ मा एमालेका शतिशप्रसाद मर्सानी विजयी भएका छन् । (रासस)